नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले यथार्थबाट अन्यत्र ध्यान मोड्न वामपन्थी एकताको चर्चा चलाइएको बताएका छन्।
एमाले र नेपाली कम्युनिस्ट पार्टी एकीकरणको चर्चाबारे शनिबार फेसबुकबाट प्रतिक्रिया सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले यसलाई पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका हुन्।
एमालेमा अहिले पार्टी पुनर्गठनको आवाज बढ्दै गएको छ। उपाध्यक्ष पौडेलले पनि पार्टी पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको बताएका छन्।
'यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाइरहेका हुन्?,' उनले प्रश्न गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अस्पतालमा छन्। उनी पक्राउ परेपछि एमालेभित्र पार्टी पुनर्गठनको माग बढ्न थालेको हो।
पार्टीको राजधानी प्रदेश कमिटीले पनि एमाले पुनर्गठनको आवश्यकता औंल्याउँदै चुनावी समीक्षासहितको प्रतिवेदन महासचिव शंकर पोखरेललाई बुझाइसकेका छन्।
महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवाली पनि पनि पार्टी पुनर्गठन गर्ने पक्षमा देखिएका छन्।