इरानले स्ट्रेट अफ हर्मुजमा फेरि कडा नियन्त्रण लागू गरिएको दाबी गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले हर्मुजमा जहाजहरुको आवतजावतमा कडाइ गरिएको बताएको हो।
अमेरिकाले नाकाबन्दी जारी राखेर समुद्री डकैती गरेको आरोप लगाउँदै आइआरजिसीले हर्मुज फेरि पहेलेकै अवस्थामा ल्याइएको दाबी गरेको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ।
अल जजिराका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले जारी गरेको विज्ञप्तिमा अमेरिकी कदमका कारण हर्मुजमा आवतजावत कडाइका साथ नियन्त्रित गरिएको उल्लेख छ।
'जबसम्म अमेरिका इरानबाट आउने–जाने जहाजहरूलाई पूर्ण स्वतन्त्रता दिँदैन, स्ट्रेट अफ हर्मुज कडा नियन्त्रणमै रहनेछ,' विज्ञप्तिमा भनिएको छ।
यसैबीच, आईआरजीसीले अमेरिका, इसराइल र संयुक्त अधिराज्यसँग सम्बन्धित जासुसी सञ्जालहरू विघटन गरेको दाबी गरेको छ। ती समूहहरू पूर्वी अजरबैजान, केरमान र माजन्दरान प्रान्तमा सक्रिय रहेको र जासुसी तथा अशान्ति फैलाउने उद्देश्य रहेको जनाइएको छ।
इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले पनि अमेरिकी नाकाबन्दीलाई अस्वीकार गर्दै अमेरिकाले अन्य देशमाथि आदेश चलाउने युग समाप्त हुनुपर्ने बताएका छन्।
यसैबीच, केही ट्यांकरहरू हर्मुज हुँदै आवतजावत गर्न थाले पनि अवस्था अझै अनिश्चित रहेको देखिएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शनिबार कम्तीमा ८ वटा ट्यांकर उक्त जलमार्ग पार गरिरहेका थिए, जुन युद्ध सुरु भएयताकै पहिलो ठूलो आवागमन हो।
तर इरानले पुनः कडा नियन्त्रण लागू गरेसँगै जहाज आवागमन निरन्तर रहने वा नहुनेबारे अन्योल कायम रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विश्वको २० प्रतिशत बढी तेल पैठारी हुने यो मार्गमा अवरोध हुँदा विश्व बजारमा ठूलो असर पर्ने गरेको छ।
शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका थिए।
'लेबनानमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ,' उनले लेखेका छन्।
हर्मुज खोलेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्रुथ सोसियलमार्फत धन्यवाद दिएका थिए।
'इरानले भर्खरै स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाएको र सबै आवतजावतका लागि खुलाएको घोषणा गरेको छ,' उनले लेखेका थिए।
बिहीबार मात्रै इरानले हर्मुजको ओमानतर्फको जलमार्गबाट आवतजावत गर्ने प्रस्ताव अघि सारेको थियो।
ट्रम्पले गत साता हर्मुज नखोले नाकाबन्दी लगाउने चेतावनी दिएका थिए।
इरानले पछिल्ला हप्ताहरूमा यो अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत जहाजहरूसँग 'टोल' (शुल्क) लिने र जलमार्गमा आफ्नो सार्वभौमसत्ता लागू गर्ने जस्ता विवादास्पद योजनाहरू अघि सारेको थियो।
लण्डनमा अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) को बैठकमा सदस्य राष्ट्रहरूले इरानको यस्तो योजनाले खतरनाक नजिर बसाल्ने भन्दै विरोध गरिरहेका थियो।
अमेरिका–इसराइल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने विश्व ऊर्जा आपूर्तिमा ठूलो अवरोध आएको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रण वार्ताको केन्द्रमा रहेको छ।
फेब्रुअरी २८ देखि सुरू भएको युद्धपछि खाडी क्षेत्रमा सयौं ट्यांकर र झण्डै २० हजार नाविक अलपत्र परेका छन्।
अप्रिल ८ देखि दुई साताको युद्धविराम लागू भए पनि जलमार्गको नियन्त्रण अझै समाधान हुन बाँकी रहेकाले यो प्रमुख विषय बनेको छ।
ट्रम्पले बुधबारसम्म दीर्घकालीन सम्झौता नभए युद्धविराम अन्त्य हुन सक्ने र आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी दिएका छन्।