नेकपा एमाले विशेष महाधिवेशन पक्षधर युवाले सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेका छन्।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरूको हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउन र तल लैजान सम्पर्क व्यक्ति तोकेको कमल जोशीले जानकारी दिए।
जोशीका अनुसार हस्ताक्षर अभियानका लागि सुजन लामाले कोशी प्रदेशको समन्वय गरिरहेका छन्। अनेरास्ववियुका निवर्तमान अध्यक्षसमेत रहेका डा. सुजन कडरियाले बागमती प्रदेशको समन्वय गरिरहेका छन्।
राजधानी प्रदेशमा ज्ञानभक्त डंगोल, मधेस प्रदेशमा अमितकुमार यादव, गण्डकी प्रदेश मा मोहन भट्टराई, लुम्बिनीमा सन्देश ढकाल, कर्णालीमा मेनका पछाईं, सुदूरपश्चिम प्रदेशमा हरिश पन्तले सहजीकरण गरिरहेका छन्।
पछिल्लो केही दिनदेखि पार्टीभित्र रूपान्तरण र पुनर्गठनको बहसलाई ओझेलमा पार्ने खेल भइरहेकाले यसलाई अझ संगठित बनाउनुपर्ने खाँचो महसुस गरेको जोशीले बताए।
हालसम्म चार सयभन्दा बढी हस्ताक्षर संकलन भइसकेको जोशीको भनाइ छ।
अभियानको थालनी बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी, युवा संघका उपमहासचिव उपेन्द्र शाहीले सुरू गरेका हुन्।
नेतृत्वले गरेका गल्ती कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि बेमौसमी कम्युनिस्ट एकताको बहस चलाउन थालिएको जोशीले बताए।
‘पछिल्लो केही दिनदेखि पार्टीभित्र हुनुपर्ने वास्तविक रूपान्तरण र पुनर्गठनको बहसलाई ओझेलमा पार्ने प्रयास भइरहेका छन्। नेतृत्वले गरेका गल्ती कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको बेमौसमी कम्युनिस्ट एकता को बहस चलाइएको छ, त्यसले पार्टीलाई अझ रक्षात्मक बनाउने निश्चित छ,’ अनेरास्ववियुका उपमहासचिवसमेत रहेका जोशीको भनाइ छ।
यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरूलाई ओझेलमा पार्ने, कार्यशैलीगत र संगठनात्मक कमजोरीहरूलाई समाधान नगर्ने स्पष्ट भएकाले रूपान्तरण र पुनर्गठनको वैधानिक बाटो समात्नु नै उपयुक्त भएको उनले बताए।
‘पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवापुस्ताको आकांक्षा र आवाजसँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो। यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिकालाई पुनः स्थापित गर्न सक्छ,’ उनले भनेका छन्, ‘यस ऐतिहासिक घडीमा पार्टी विधानको मर्म र व्यवस्था अनुसार पार्टीभित्रैबाट उठिरहेको आवाजलाई तत्काल सम्बोधन गर्नपर्छ भन्ने हामी युवाहरूको दृढ मान्यता छ र यसका निमित्त हाम्रो पहल जारी रहेको सबैमा जानकारी गराउन चाहन्छौं।’
नेकपा एमालेको विधानको धारा ७३ मा विशेष महाधिवेशनको व्यवस्था छ। विशेष महाधिवेशन माग गर्न ५१ प्रतिशत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यको हस्ताक्षर जुटाउनुपर्छ।
एमालेको ११ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरू नै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुन्।
-1776560736.jpeg)