नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी सभापति गगन थापाले बृहत्तर एकताका लागि संवादको सुरूवात गर्नुपर्ने बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा बोल्दै उनले सभापति थापाले सबै पक्षलाई मिलाएर लैजाने कामको सुरूवात गर्नुपर्ने बताएका हुन्।
‘पार्टीको मूल नेतृत्वमा जसलाई सर्वोच्च अदालतले स्थान दिएको छ, मूल नेतृत्वमा वैधानिक रूपले उहाँ स्थापित हुनुभएको छ, उहाँले पार्टीको बृहत्तर एकताका लागि सुरूवात गर्ने र समीक्षा गर्ने तथा पार्टी एकताका लागि कार्यक्रम प्रस्तुत गर्ने जिम्मा उहाँकै हो।’
सर्वोच्च अदालतले देउवा र खड्काको रिट खारेज गर्दै विशेष महाधिवेशनलाई मान्यता दिएको थियो।
साथै उनले आजको छलफलमा बोल्दै सभापति थापाले सबैलाई मिलाएर लैजाने विश्वास पनि व्यक्त गरेका थिए। ‘उहाँले सामाजिक सञ्जालमा लेख्ननु पनि भएको छ- सबैलाई मिलाएर लैजाने भन्ने कुरा। त्यो कुरा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।
उनले १५ औं महाधिवेशन आइसकेको पनि बताए। ‘सबैको साझा स्थान प्राप्त हुने गरी पार्टीभित्र कदम बढाउनुपर्छ,’ उनले भने, ‘पार्टीलाई जनतासँग जोड्दै ठूलो बनाउनुपर्नेछ।’
उनले आफूले मंसिरभित्रै महाधिवेशन गरौं भनेर भनेको पनि स्मरण गरेका थिए। पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने पनि उनले बताए।