नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पार्टी बिपीकै आदर्शमा फर्कनुपर्ने बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा धारणा राख्दै उनले बिपीको आदर्श छाड्दा पार्टीको यो अवस्था आएको बताएका हुन्।
‘बिपीको आदर्शबाट हामी डिरेल हुँदाका कारणले आज यो दुर्घटना आयो, त्यसलाई आत्मसमीक्षा गरेर हामी फेरि बिपीकै आदर्शमा फर्कनुपर्छ भन्ने कुरा आज मैले छलफलमा राखेको हुँ,’ उनले सेतोपाटीसँग कुराकानी गर्दै भने।
उनले बाहिर आएजस्तो आफूले फरक पार्टी बनाएर जानुपर्छ भन्ने कुरा नराखेको पनि दाबी गरेका छन्।
‘राज्यका संयन्त्रहरू नियन्त्रणभन्दा बाहिर गए कि भन्ने सन्दर्भ राखेको थिएँ,’ उनले भने, ‘१५ औं महाधिवेशनमा जाँदाखेरि बिपीका आदर्शहरूलाई पुन: स्थापित गर्ने गरी अघि बढ्नुपर्छ।’