नेपाली कांग्रेसका सभापति गगन थापाले नेता पूर्णबहादुर खड्कालाई भेटेका छन्।
नेता खड्कालाई भेट्न सभापति थापा आज उनकै निवास गल्फुटार पुगेका थिए।
'सभापति थापा र नेता खड्काबीच करिब एक घन्टा कुराकानी भएको हो,' कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने, 'उहाँहरूबीच सौहार्दपूर्ण कुराकानी भयो।'
उनीहरूबीच के के विषयमा कुराकानी भयो भने विस्तृत आइसकेको छैन।
निवर्तमान कार्यवाहक सभापति खड्काले आइतबार आफूनिकट नेताहरूसँग धुम्बाराहीमा छलफल गरेका थिए। पार्टी एकताको बृहत्तर पहल सभापति थापाले गर्नुपर्ने निष्कर्ष उक्त भेलाको थियो।
उक्त भेला सकिएको केही घन्टामै सभापति थापा नेता खड्कालाई भेट्न उनकै निवास पुगेका हुन्।
तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट गत शुक्रबार खारेज भएको थियो।
यसअघि कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नेता खड्कालाई साथ दिने स्पष्टीकरण सोधेको थियो।