नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वसँग पार्टी एकतासम्बन्धी कुनै कुरा नभएको बताएका छन्।
अस्पतालबाट घर फर्किएपछि निवासमा भेट्न पुगेका विशाल भट्टराई सहितका नेताहरूलाई उनले पार्टी एकता कहिल्यै हुँदैन वा जसरी पनि हुन्छ भन्ने दुवै कुरा गलत भएको बताएका हुन्।
'नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ लगायतका धेरै नेताहरु स्वास्थ्यलाभको कामना गर्न अस्पताल आउनुभएको हो। पार्टी एकता सम्बन्धी कुनै कुरा भएको छैन,' अध्यक्ष ओलीका भनाइ उद्धृत गर्दै भट्टराईले भने, 'तर पार्टी एकता कहिल्यै हुँदैन वा जसरी पनि र जस्तोसुकै अवस्थामा पनि हुन्छ भन्ने दुवै गलत कुरा हुन्।'
आजका सन्दर्भमा एमालेको सिद्धान्त, नीति, कार्यक्रम स्वीकार गर्ने शक्तिसँग मात्र एकता हुने ओलीको भनाइ छ।
पहिले जस्तो सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपता बिनाको पार्टी एकता अब सम्भव नहुने ओलीले बताएका थिए।
भेट क्रममा नेताहरूलाई उनले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र पार्टी एकता गर्न सकिने बताएको भट्टराईको दाबी छ।
आफू पूर्णतः स्वस्थ भएपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने पनि ओलीले सुनाएका थिए।
'वर्तमान सरकारले गरेको धरपकड प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण थियो। अदालतले छुट्कारा दियो तर अनेक झुटा मुद्दा खडा गरेर कुनै पनि बेला जो कसैलाई पक्राउ गर्न सक्छ। मेरा हकमा हिजो लगाइएको प्रत्येक लाञ्छनाको छानबिन होस् र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबिन गरियोस र सत्यतथ्य बाहिर आओस्। यस्ता प्रत्येक मुद्दाको निष्पक्ष छानबिन भए हामी सामना गर्न तयार छौं,' ओलीले बाहिर लान भनेको सन्देश भट्टराईले सामाजिक सञ्जालमार्फत् बताएका छन्।