राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। केन्द्रीय समितिका ९ कार्यसूची तय गरिएको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको एजेण्डा तय गरेको हो।
केन्द्रीय समितिको आजको बैठकमा पार्टी गतिविधिबारे ब्रिफिङ हुनेछ।
केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन्। बैठकमा करिब २० जना बोल्ने तय भएको छ। उनीहरूलाई २ मिनेट समय दिइएको छ। बैठकले केन्द्रीय समिति पदाधिकारी मनोनयन गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए।
यस्तै बैठकमा पहिलो महाधिवेशन कार्यविधि मसौदाबारे छलफल हुने झाको भनाइ छ।
यसैबीच रास्वपाले विधान संशोधन गर्न लागेको छ। त्यसबारे पनि केन्द्रीय समितिले तय गर्ने रास्वपाले बताएको छ।
रास्वपामा वरिष्ठ नेता राखिएको भए पनि विधानमा व्यवस्था छैन। बालेन शाहको समूह रास्वपामा समाहित हुँदा उनलाई वरिष्ठ नेता दिइएको थियो।
त्यस्तै आजकै बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वानबारे पनि छलफल हुनेछ।
सातौं कार्यसूचीमा प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने व्यवस्थाबारे पनि छलफल हुनेछ। त्यसको कानुनी प्रबन्धबारे छलफल हुने उनको भनाइ छ।
यस्तै सचिवालयका निर्णय अनुमोद गर्ने, विविध कार्यसूचीअन्तर्गत विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचारबारे छलफल हुनेछ। विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे पनि छलफल हुनेछ।
केन्द्रीय समिति बैठकले संसदीय दलको विधान संशोधन गर्नेछ। संसदीय दल विधानमा एक मात्रै सचेतक रहने प्रबन्ध भएकामा अहिले दुईजना (प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल)को व्यवस्था गरिएको छ।
सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। त्यसको कार्यविधि पनि आजको बैठकले तय गर्नेछ।