अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेको छ।
इरानमाथिको नाकाबन्दी कडा बनाउन खटिएको अमेरिकी सेनाले आइतबार पानीजहाज कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तोड्न खोजेको जहाजलाई नियन्त्रणमा लिइएको बताएका छन्।
'हामीले उनीहरूको जहाज पूर्ण रूपमा नियन्त्रणमा लिएका छौं। र भित्र के छ भनेर पनि जाँच गरिरहेका छौं, ट्रम्पले भनेका छन्।
अमेरिकी सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरतर्फ जाँदै थियो।
इरानले भने जहाज चीनबाट आएको बताउँदै यसलाई सशस्त्र डकैतीको संज्ञा दिएको छ। इरानी सेनाले छिट्टै प्रतिकार गर्ने चेतावनी दिएको पनि तेहरानको सरकारी सञ्चारमाध्यमहरूलाई उद्धृत गरी रोयटर्सले लेखेको छ।
अमेरिकाले जहाज कब्जा गरेपछि मध्यपूर्वको तनाव अझै चुलिएको छ। यसले अस्थायी युद्धविराम नै संकटमा परेको भनेर रोयटर्सले लेखेको छ।
तनावको मुख्य केन्द्र स्ट्रेट अफ हर्मुज क्षेत्रमा दुवै पक्षले नाकाबन्दी जारी राखेका छन्।
विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यो मार्गमा अवरोध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
ट्रम्पले इस्लामावादमा छिट्टै दोस्रो चरणको वार्ता हुने भने पनि त्यो अन्योलमा परेको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर अमेरिकी टोली सोमबार साँझसम्म इस्लामावाद पुगिसक्ने जानकारी गराएका छन्।
इस्लामावादमा इरानलाई निष्पक्ष प्रस्ताव राखिने त्यसमा सम्झौता नभएको खण्डमा अमेरिकाले इरानको ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने धम्की ट्रम्पले दिएका छन्।
ट्रम्पले अमेरिकी टोली इस्लामावाद पुग्ने भनेपछि पाकिस्तानले त्यहाँ सुरक्षा कडा बनाएको छ।
पाकस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानी राष्ट्रपति मशुद पेजेस्कियनसँग र विदेशमन्त्री इशाक डारले समकक्षी अब्बास अराग्चीसँग पनि लामो टेलिफोन संवाद गरेका थिए।