प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको दाहालले जानकारी दिइन्।
बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या तथा समाधानका उपायबारे विस्तृत विमर्श हुने बताइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूबारे पनि छलफल केन्द्रित रहनेछ।
छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय का उपकुलपतिसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालका उपकुलपतिहरू पनि छलफलमा उपस्थित हुनेछन्।
बैठकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि सहभागी हुनेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन्।
सरकारले उच्च शिक्षामा देखिएका समस्याहरू समाधान गर्न र समन्वय सुदृढ बनाउन यो छलफल गर्न लागेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालले जानकारी दिइन्।