नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत् यसलाई प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।
ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन्
‘पञ्चायती निरंकुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी हस्तक्षर गर्न सक्नु भयो होला?’
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको उनले बताएका छन्। विद्यार्थी संगठनहरू मूल मुद्दाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा अन्यथा भए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन। समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रुपान्तरण हो,’ ज्ञवालीले लेखेका छन् ‘के तपाईं कपालमा चाया प¥यो भनेर गर्धन नै छिनाउनु हुन्छ?’