राप्रपाका तीन जना पूर्व अध्यक्षहरूसँग महामन्त्री धवल शम्शेर राणा लगायतले छलफल गरेका छन्।
जेठभित्र राप्रपाको महाधिवेशन गर्न निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन भन्दै छलफल भएको हो।
आइतबार महामन्त्री राणाको नेतृत्वमा गएको टोलीले पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाको निवास ‘विजयवास’ पुगेर राप्रपाका पूर्व अध्यक्षहरूसँग छलफल गरेको नेताहरूले जनाएका छन्।
भेटको क्रममा उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।
उक्त भेटमा पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेत उपस्थित थिए।
केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तत्काल मिति घोषणा गरी अन्योलता चिर्नुपर्ने धारणा महामन्त्री राणाले राखेका थिए।
यसैगरी विश्वसनीय रूपमा महाधिवेशन आयोजना गर्न कुनै निष्पक्ष व्यक्तित्वको संयोजनमा महाधिवेशन आयोजक समिति गठन हुनु पर्ने कुरा ध्यानाकर्षण गराएको नेता सगुन सुन्दर लावतीले जानकारी दिए।
पार्टीलाई नयाँ ऊर्जा र ताजगी दिन महाधिवेशनको विकल्प नभएको भन्दै रोकेर राखिएको प्रक्रिया तत्काल खुला गर्नुपर्ने असन्तुष्ट पक्षको भनाइ छ।
हालसम्म २७ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जेठमा महाधिवेशन सम्पन्न गर्न कुनै कठिनाइ नहुने कुरा छलफलमा उठेको थियो।
चुनावी असफलतापछि कार्यकर्तापंक्तिमा रहेको अन्योलतालाई चिर्न समयमै महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेको विषय भेटमा राखिएको थियो।
नेता लावतीले पार्टीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नयाँ नेतृत्व र नयाँ कार्यदिशाका लागि महाधिवेशन अनिवार्य भएको र यसमा अभिभावकहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको जानकारी दिए।