लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतको सोमबारको १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध बहस चलाए।
मूल्यवृद्धिले आम मानिसको जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता लिन संघीय सरकारसँग अधिकांश सदस्यले माग गरे।
प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारूले पेट्रोलियम पदार्थमा गरिएको नीतिगत व्यवस्थाले राज्यलाई नोक्सानी र व्यवसायीलाई फाइदा पुगेको भन्दै मूल्यवृद्धिको विरोध गरे।
उनले इन्धनको मूल्य वृद्धिले आम नागरिक प्रत्यक्ष रूपमा मर्कामा परेको हुँदा मूल्य वृद्धि फिर्ता लिन आग्रह गरे।
प्रदेश सभा सदस्य इन्द्राकुमारी गहतराजले संघीय सरकार गठन भएयता नुनदेखि सुनसम्म अत्यधिक मूल्यवृद्धि भएको भन्दै जनताको दैनिक जीवन कष्टकर बनेको बताइन्। उनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिन्।
प्रदेश सभा सदस्य हेमा बेल्वासेले सीमापारिबाट ल्याइने सामान्य घरायसी सामानमा एक सय रुपैयाँभन्दा माथि भन्सार तिर्नुपर्ने व्यवस्था र पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाए।
आफू गरिब नागरिकको आवाज बनेर उभिएको भन्दै उनले सीमावर्ती क्षेत्रका नागरिकले सामान्य सामग्री ल्याउँदा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग गरिन्।
‘वर्तमान महँगीको अवस्थामा १०० रुपैयाँले सामान्य सामान समेत किन्न नसकिने भन्दै यस्तो नियमले गरिबको भान्सामाथि प्रत्यक्ष असर गरेको छ,’ उनले भनिन्, ‘इन्धन महंगिँदा सिँचाइ खर्च, ट्र्याक्टर भाडा र उत्पादन लागत बढ्ने भएकाले किसान पलायन हुने अवस्था आएको छ।’
उनले इन्धनको चर्को मूल्यवृद्धिका कारण ढुवानी खर्च बढेर दैनिक उपभोग्य वस्तुको मूल्य समेत चुलिएको हुँदा सीमावर्ती नागरिकका लागि ‘बोर्डर पास’ वा सहुलियत कार्डको व्यवस्था गर्न तथा सस्तो र सुलभ बजार सुनिश्चित गर्न माग गरिन्।
प्रदेश सभा सदस्य तारा थापाले अत्यधिक मूल्यवृद्धिका कारण विपन्न वर्गको जीवनयापनमा थप कठिनाइ उत्पन्न भएको भन्दै तत्काल राहत दिनुपर्ने बताइन्।
प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले बाँके दक्षिण क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि आयोजनालाई पुनर्जीवन दिनुपर्ने बताइन्।
बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलित अधिकार सम्बन्धी विधेयक माथिको समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरे।
सातौं अधिवेशनको १४ औं बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।