जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।
सभापति लामिछानेको निवासमा जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ।
यसअघि शुक्रबार भ्रमण टोलीका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि छलफल गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने विषयमा ध्यान दिन सांसदहरूलाई निर्देशन दिएका थिए।
भ्रमणका क्रममा दुवै देशका अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले उच्चस्तरीय भ्रमणलाई रास्वपा र सिपिसीले नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए।
महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा चीन भ्रमणमा जाँदैछन्।
यसअघि शुक्रबार प्रधानमन्त्री बालेन शाहले चीन जाने सांसदहरूसँग छलफल गरेका थिए।