प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालो चस्मा लगाएर राज्य संयन्त्र कब्जा गर्न नयाँ गिरोहका सदस्यहरू खटिएको टिप्पणी गरेको छ।
अख्तियारका प्रमुख आयुक्त सहितलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा राखेर परराष्ट्र मन्त्रालयका सहसचिव विरूद्ध पक्राउ पुर्जी गर्न बाध्य पारिएको घटनालाई लिएर कांग्रेसले प्रतिनिधि सभामा विरोध गरेको हो।
कांग्रेस सांसद खड्कबहादुर बुढाले पञ्चायतकालमा भूमिगत गिरोह सञ्चालन भएजस्तै अहिले प्रधानमन्त्री कार्यालयमा संविधान र कानुनले नचिकाहरूको गिरोह रहेको टिप्पणी गरेका हुन्।
'प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै सतर्कता केन्द्र होइन। संवैधानिक अंग हो', आजको प्रतिनिधि सभा सांसदमा बोल्दै सांसद बुढाले भने, 'यसले आवश्यक परेका बेला सरकार माथि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स गर्ने हो। अख्तियार कसैको गोजीको संस्था होइन। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने हो?'
उनले अहिले सरकारमा मन्त्रीहरूले निर्णय गरिरहेका छन् अथवा अन्य कोहीले भन्ने प्रश्नसमेत उठाए।
‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने को हुन् र तिनीहरू नेपालको संविधान र कानुन नचिनेका केबल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्', बुढाले भने, 'निर्णय गर्ने ठाउँमा मन्त्री छन् कि पर्दा पछाडि बसेका कोही? मन्त्रीहरू देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरीरहेको छ भन्ने आरोप छ।'
उनले भ्रष्टाचारका सवालमा कांग्रेसका पदाधिकारीदेखि पूर्व प्रधानमन्त्रीसम्मलाई कानुन बमोजिम अनुसन्धान र कारबाही हुनुपर्छ भन्नेमा कांग्रेस स्पष्ट गरेको बताए।
'कानुन माथि कोही छैन तर लोकतान्त्रिक व्यवस्थामा परिणाम मात्र हेरेर मात्र पुग्दैन', बुढाले भने, 'प्रक्रिया कानुनसम्मत छ कि छैन। संविधानमा विश्वास गर्ने र संवैधानिक संस्थाहरूमा विश्वास गर्नेहरू सरकारको स्वच्छाचारिता देखेर निराश भएका छन्।'
यो पनि- अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना