इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि शनिबारदेखि सुरू हुँदै छ।
शुक्रबार श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानस्थित उनकै पूर्व निवास नजिक राखिएको छ। उच्च इरानी अधिकारीहरू श्रद्धाञ्जली दिन उपस्थित भइरहेका छन्।
शनिबारदेखि सुरू हुने शव यात्रा तेहरानदेखि इरान र इराकका प्रमुख धार्मिक सहरसम्म पुग्ने कार्यक्रम छ।
यसअघि तनाव कायमै रहेका कारण शवयात्रा र अन्त्येष्टि स्थगित गरिएको थियो।
अहिले अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम तथा वार्ताका कारण त्यसको वातावरण बनेपछि इरानले राष्ट्रिय स्तरमै कार्यक्रम गरेर खामेनीक अन्त्येष्टि गर्न लागेको हो।
इरान सरकारले लाखौं मानिसलाई सडकमा उतारेर दिवंगत नेतालाई श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेको छ।
सरकारी कर्मचारी, विश्वविद्यालय, श्रमिक संगठन, अर्धसैनिक बल, रेडक्रस र विभिन्न धार्मिक समूहलाई परिचालन गरिएको छ।
अधिकारीहरूका अनुसार ४० लाखदेखि एक करोड ५० लाखसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ। यदि यस्तो सहभागिता भयो भने यो आधुनिक इतिहासकै सबैभन्दा ठूलो अन्त्येष्टि समारोहमध्ये एक बन्न सक्ने भनेर अमेरिकी समाचार संस्था एसोसियटेड प्रेसले लेखेको छ।
त्यस्तै, नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनी पहिलोपटक सार्वजनिक रूपमा देखिने हुन् वा होइनन् भन्ने विषय पनि अन्त्येष्टिको प्रमुख चासो बनेको छ।
शनिबार र आइतबार खामेनीको शव तेहरानस्थित इमाम खोमेनी ग्रान्ड मुसल्लामा राखिनेछ। सोमबार तेहरानका सडक हुँदै शोकयात्रा निकालिनेछ भने त्यसपछि कोम, इराकका नजाफ र करबला हुँदै अन्तिममा इरानको मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिनेछ।
अन्त्येष्टिका लागि रोजिएका मितालाई पनि प्रतीकात्मक रूपमा हेरिएको छ।
जुलाई ४ मा अमेरिकाले स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेका बेला खामेनीको शव सर्वसाधारणका लागि राखिनेछ। सम्पूर्ण कार्यक्रम शिया मुस्लिमका लागि शोक र बलिदानको महिना मानिने मुहर्रममा भइरहेको छ।
खामेनीको शवमाथि करबलास्थित इमाम हुसेनको दरगाहमा फहराइएको रातो पवित्र झण्डा ओढाइएको छ, जसलाई प्रतिरोध र बलिदानको प्रतीक मानिन्छ।
अन्त्येष्टिलाई इरानले राजनीतिक शक्ति प्रदर्शनका रूपमा पनि लिएको विश्लेषण गरिएको छ।
इरानी सञ्चारमाध्यमहरूले विगत १० दिनदेखि विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन् भने संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरान अन्यायका अगाडि झुक्दैन भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्।
अन्त्येष्टिको अर्को प्रमुख चासो नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको उपस्थितिलाई लिएर छ। पितामाथिको आक्रमणमा घाइते भएका उनी त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्। यदि उनी अन्त्येष्टिमा उपस्थित भए भने सर्वोच्च नेता बनेपछि त्यो उनको पहिलो सार्वजनिक उपस्थिति हुनेछ। तर सुरक्षा जोखिमका कारण उनी अनुपस्थित पनि रहन सक्ने अनुमान गरिएको छ।
अन्त्येष्टिअघि तेहरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्, निजी सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ र हजारौं सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ। पाँच करोड रोटी पकाउनेदेखि २,५०० एम्बुलेन्स, २१ हेलिकोप्टर र १०० ड्रोन तयारी अवस्थामा राखिएको छ।
यसअघि सन् १९८९ मा आयतोल्लाह रुहोल्लाह खोमेनी र सन् २०२० मा जनरल कासिम सुलेमानीको अन्त्येष्टिमा भगदड हुँदा दर्जनौं मानिसको ज्यान गएको थियो। त्यसैले यसपटक पनि ठूलो भीडका कारण सुरक्षा चुनौती उच्च रहने अधिकारीहरूले बताएका छन्।
खामेनीको अन्त्येष्टि अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा हर्मुज जलडमरूमध्यसम्बन्धी वार्ता जारी रहेका बेला हुन लागेको हो। विश्लेषकहरूका अनुसार इरानले यो अन्त्येष्टिलाई शोक समारोहसँगै राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो राजनीतिक सन्देश दिने अवसरका रूपमा प्रयोग गर्न खोजेको छ।