नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङसँग एक-एक हिसाब राखेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालत लगायतका भौतिक सम्पत्ति जलाइएको देखि एमालेका नेतामाथि धरपकड गरिएको विषयसम्म हिसाब राखिएको बताएका हुन्।
'बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ,' उनले भने।
उनले अहिले पनि एमाले उपाध्यक्ष विष्णु पौडेललाई 'वाहियात' आरोप लगाएर थुनिएको बताए।
'हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन साह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ । हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ । अहिले समाचार सुन्दैछौँ–उनी बेपत्ता भएका रे । कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला छन्,’ उनले भने।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेको २४ घन्टा नबित्दै पक्राउ गर्ने खोजिएको विषयको पनि हिसाबकिताब हुने उनले बताएका छन्।
यसरी पार्टी र राज्यस्तरबाटै एमाले नेतृत्व र नेताहरूविरूद्ध सुनियोजित रूपमा भ्रम फैलाउने काम भइरहेको उनले बताए।
गत वर्षको भदौ २३/२४ गतेका घटनामा संलग्नहरू अहिले सत्ताको छायामा संरक्षित रहेको पनि बस्नेतको आरोप छ।