सरकारले जबाफदेहिता र सदाचारी शासकीय व्यवस्थापनको विषयमा पर्याप्त काम भएको दाबी गरेको छ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको सय दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यसचिव सुमनराज अर्यालले यस्तो दाबी गरेका हुन्।
उनले नयाँ सरकार बनेपछि संस्थागत सुधारमा केही न केही प्रगति भएको बताए।
संस्थागत सुधारको प्रगति आम नागरिकले पनि महसुस गरेको उनको दाबी छ।
संगठनात्मक सुदृढीकरण, कार्य सरलीकरण, सूचना प्रविधिको प्रयोगमार्फत बिजनेस प्रोसेस रि–इन्जिनियरिङ, सेवा प्रवाहमा विशिष्टीकरण, अनुशासन तथा सुशासनका आधारभूत चरित्रहरूमा कुनै पनि सम्झौता नगर्ने अठोटका साथको प्रत्याभूति, मितव्ययी, प्रभावकारी प्रशासन, जबाफदेहिता र सदाचारी शासकीय व्यवस्थापनको विषयमा पर्याप्त काम भएको उनको भनाइ छ।
मुख्यसचिव अर्यालले भने, ‘अहिलेको समयमा केही न केही यस संस्थागत सुधारमा भएको हामीले महसुस गरेका छौं। तपाईंले महसुस गर्नु भएको हुनुपर्दछ। संगठनात्मक सुदृढीकरणका विषयवस्तुहरू, कार्य सरलीकरणका विषयवस्तुहरू, सूचना प्रविधिको प्रयोगमार्फत बिजनेस प्रोसेस रि–इन्जिनियरिङका विषयवस्तुहरू, सेवा प्रवाहमा विशिष्टीकरणका कुराहरू, अनुशासन तथा सुशासनका आधारभूत चरित्रहरूमा कुनैपनि सम्झौता नगर्ने अठोटका साथको प्रत्याभूति, मितव्ययी, प्रभावकारी प्रशासन, जबाफदेहिता र सदाचारी शासकीय व्यवस्थापनको विषयमा पर्याप्त काम भएको छ। र यो यी विषयवस्तुहरूले गर्दा खेरि राज्यप्रति जनताको विश्वास, सिटिजन ट्रस्टमा उल्लेख्य वृद्धि भएको अनुभूति तपाईं हामी सबैले गरेका छौँ।’
मुख्यसचिव अर्यालले नयाँ सरकारको कामले राज्यप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे। –न्युज एजेन्सी नेपाल