नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भूमिका निर्वाह गरेको दाबी गरे।
जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको उनको भनाइ छ।
अध्यक्ष ओलीले पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार, आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गरे।
राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उनले परिवर्तनको अभियान सधैं सोझो र सहज मार्गबाट मात्र अघि नबढ्ने उल्लेख गरे।
नदीले विभिन्न घुम्ती र अवरोधहरू छिचोल्दै आफ्नो मार्ग तय गरेझैँ राजनीतिक आन्दोलनले पनि अनेकौं मोडहरू पार गर्नुपर्ने उनले बताए।
उनले भने, ‘हाम्रो पार्टी गौरवपूर्ण संघर्ष र बलिदानको इतिहास बोकेको, नेपाली समाजको जागरण र परिवर्तनमा असाधारण तथा अद्वितीय भूमिका निर्वाह गरेको पार्टी हो। जनचेतनाको विकास, जागरण र परिवर्तन के हो भन्ने कुरा जनतालाई बुझाउने, हामी कहाँ जान हिँडेका हौँ, हाम्रो कर्तव्य के हो, कुन बाटोबाट, कुन तरिकाले र कसरी लक्ष्यमा पुगिन्छ भन्ने विषयमा स्पष्टता दिँदै जनतालाई नेतृत्व गरेर सफलतापूर्वक अगाडि बढिरहेको पार्टी यही हो। यस पार्टीले विभिन्न समयमा अनेकौँ प्रहार, आक्रमण र कुप्रचार सहनुपरेको छ। तर ती सबै चुनौतीहरू सामना गर्दै, धक्काहरू सहँदै र तिनबाट उठ्दै आफ्ना महान् उद्देश्यतर्फ निरन्तर अगाडि बढिरहेको छ। र फेरि पनि अगाडि बढ्नेछ।’
उनले अगाडि भने, ‘हामीले समय–समयमा ठूला धक्काहरू व्यहोरेका छौँ। असफलताहरू पनि भोग्नुपरेको छ। आन्दोलनको जीवन, संघर्षको जीवन र पार्टीको जीवनमा परिवर्तनको अभियान सधैँ निर्वाध रूपमा अगाडि बढ्छ भन्ने हुँदैन। एउटा नदी अगाडि बढ्नुपर्यो भने त्यसले कहिले यताको भित्तामा ठोक्किँदै, कहिले उताको घुम्तीमा मोडिँदै आफ्नो यात्रा तय गर्नुपर्छ। सधैं सोझो बाटो र निर्विघ्न गतिमा एउटा नदी पनि बग्न पाउँदैन। त्यसलाई रोक्ने अनेकौँ व्यवधानहरू आउँछन्। तर ती व्यवधानहरूलाई छिचोल्दै, घुम्ती र मोडहरू पार गर्दै नदी अन्ततः अगाडि बढ्छ। आन्दोलन पनि यस्तै हो। हामी अनेकौँ मोडहरू पार गर्दै यहाँसम्म आइपुगेका छौँ। यतिबेला पनि हामीले एउटा गम्भीर धक्का व्यहोर्नुपरेको छ र हामीले त्यो गम्भीर धक्का सहेका छौँ।’
पार्टीले अहिले केही गम्भीर धक्का र चुनौतीहरू सामना गर्नुपरिरहेको स्वीकार गर्दै अध्यक्ष ओलीले यस्ता परिस्थितिबाट विचलित नभई अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे। –न्युज एजेन्सी नेपाल