नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको रास्वपाको अहिलेको एकल सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लागेको बताएका छन्।
सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरू भएको समीक्षात्मक कार्यक्रममा धारणा राख्दै सभापति थापाले भने, ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, भर्चुअल तालीमा लागेको छ। भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।’
सरकार आफैले '१०० कार्यसूची, १०० दिनका उपलब्धि' भनेर सार्वजनिक गरेकोले केही प्रवृत्तिहरूबारे आफूले धारणा राखेको सभापति थापाको भनाइ छ।
सभापति थापाले एउटा कुरामा भने प्रधानमन्त्री बालेन शाहको प्रशंसा गरेका छन्।
बालुवाटारबाटभन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरेका छन्।
‘यसपालि सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ, सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन शासकीय जिम्मेवारी छ, त्यो शासकीय जिम्मेवारी नै प्राथिमकतामा परेको छ, प्रधानमन्त्रीको फोकस शासकीय काममै छ, यो हेर्दा सामान्य देखिए पनि यो सकारात्मक छ र यसले निरन्तरता पाओस्,’ सभापति थापाले भने।
प्रधानमन्त्री शाहले निवास बालुवाटारमा छलफल तथा मन्त्रिपरिषद बैठकहरू राखेका छैनन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै कामकाज गर्दै आएका छन्। विगतलाई तुलना गरी हेर्दा यो विषय भने राम्रो रहेको सभापति थापाको भनाइ छ। विगतमा प्रधानमन्त्रीहरूले बालुवाटारमा बसेर प्रधानमन्त्रीभन्दा दलका नेताका रूपमा काम गर्ने गरेको उनको भनाइ थियो।
साथै उनले सरकार विधि र प्रक्रियाभन्दा पनि 'परिणाम' दिन्छु भनेर कानुनविपरीत लागेको देखिएको बताएका छन्।
‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ,’ उनले भने, ‘यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपा सरकार हुँदा।’