नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ।
महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ।
‘वडा र क्षेत्रीय सभापतिहरूको मागअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गर्ने निर्णय भएको छ,’ महामन्त्री पौडेलले सेतोपाटीसँग भने, ‘अब साउन ३ गतेसम्म नयाँ क्रियाशील वितरणको काम जारी रहन्छ।’
कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ।
यसअघि कांग्रेसले असार २० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो।
नयाँ सदस्यता वृद्धि गर्न ७७ जिल्लामै केन्द्रीय प्रतिनिधिहरूसमेत खटाइएको पार्टीले जनाएको छ।
कांग्रेसले ३५ वर्षमुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
विशेष महाधिवेशनमा पेस विधानमा हरेक प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउँदा ३ जना युवा आउने व्यवस्था गरिएकोले पनि ३५ वर्षमुनिका युवाहरूलाई पार्टीमा जोड्न कांग्रेसले प्राथमिकता दिएको हो।
यसअघि कांग्रेसले करिब ६ लाख जनाको क्रियाशील सदस्यता अद्यावधिक गरेको थियो।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्दैछ।
त्यसअघि मातहत समितिहरूको अधिवेशन हुनेछ।
अधिवेशन सुरू हुनुअघि क्रियाशील नवीकरण/अद्यावधिक र नयाँ वितरण गर्ने काम गरिएको हो।