नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रविधिमैत्री बनाउने भएको छ।
केन्द्रीय निर्वाचन समिति समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको बैठकले १५ औं महाधिवेशन प्रविधिमैत्री बनाउने निर्णय गरेको सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
बैठकले १५ औं केन्द्रीय महाधिवेशन तोकिएको समयमै स्वच्छ, निष्पक्ष रूपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय छ।
कांग्रेसले महाधिवेशन पेपरलेस बनाउने बताएको छ।
साथै प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। हालै कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकसमेत गरेको थियो।
संस्थापनइतर समूहले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाइरहेका बेला कांग्रेसले प्रविधिको उच्चतम प्रयोग गरी महाधिवेशन गर्ने निर्णय गरेको हो।
साथै निर्वाचन अधिकृतहरूमा कानुन व्यवसायीहरूलाई खटाउने निर्णय भएको छ।
यस्ता छन् निर्णय-
१. नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ। साथै निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इभिएम प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गर्दछ।
२. निर्वाचन प्रक्रिया सुरू भइसकेपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायलाई आग्रह गर्ने निर्णय गर्दछ।
३. निर्वाचन कार्यमा काठमाडौं उपत्यकाभित्र रहेका ३ जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाअन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरूमा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाइने निर्णय गर्दछ।४. निर्वाचन कार्यमा स्वयंसेवकको रूपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरूलाई अभिमुखीकरण कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय गर्दछ।