अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोकमा मानिसहरू त्यसरी रून्छन् भन्ने कुरा आफूले नसोचेको बताएका छन्।
अमेरिकी अनलाइन एक्सियससँग टेलिफोन कुराकानीमा ट्रम्पले शनिबार तेहरानको दृश्यले आफू छक्क परेको बताएका हुन्।
खामेनीको शोक समारोहमा लाखौं नागरिक सहभागी भएका थिए। उनीहरूले भावुक भएको र रोएका भिडिओहरू इरानी मिडियाहरूले सार्वजनिक गरेका छन्।
ट्रम्पले इरानी नागरिकहरू खामेनीलाई घृणा गर्ने दाबी पनि गरे।
'शोक समारोहमा केही मानिसहरू रोइरहेको देखेर म छक्क परेँ। मलाई थाहा छ उनीहरू खामेनीलाई घृणा गर्छन्। शायद त्यो नक्कली आँसु हो,' ट्रम्पले एक्सियससँग भनेका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकाको टार्गेटमा रहेका सबै व्यक्तिहरू त्यही शोक समारोहमा रहेको र अमेरिकाले चाहँदा सबैलाई मार्न सकिने बताए।
'तर हामी त्यसो गर्दैनौं। त्यसो गर्यौं भने हामीले डिल को सँग गर्ने?,' उनले भने।
ट्रम्पले इरानकै अनुरोधमा तेहरानमा एक सातासम्म कुनै आक्रमण नगर्न आफू तयार भएको बताए।
खामेनीको साताव्यापी शोक समारोह र अन्त्येष्टि कार्यक्रम अवधिभर अमेरिकाबाट कुनै हमला नहुने ट्रम्पले बताए।