प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संसदप्रति उत्तरदायी हुन आग्रह गरेका छन्।
सरकारका १०० दिनबारे समीक्षात्मक रूपमा आजको प्रतिनिधि सभा बैठकमा धारणा दिने क्रममा आङ्देम्बेले संसद जनताको प्रनितिधि संस्था भएकोले प्रधानमन्त्री यसप्रति जबाफदेही हुनुपर्ने बताए।
‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो, त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँको सरकार यही संसदको विश्वासमा टिकेको हो, त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने, ‘बितेका १०० दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु- धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्याउने संसद बिर्सने, संसदलाई अवमूल्ययन गर्ने?’
उनले प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपर्ने हो भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ भनेर प्रश्न पनि गरेका थिए।
‘संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ प्रधानमन्त्रीलाई लक्ष्य गर्दै उनको प्रश्न छ, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन।’
सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भए पनि प्रधानमन्त्रीका रूपमा गम्भीर ढंगले काम गर्न गाह्रो रहेको उनको भनाइ छ।
‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो। सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईंमात्र होइन सिंगो देश दुर्घटनामा पर्न सक्छ,’ उनले भने।
उनले प्रतिपक्षी दल नेता संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित रहने प्रचलन पनि सम्झाएका थिए। ‘विपक्षी दल नेताले बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने प्रचलन छ, प्रधानमन्त्रीजी यहाँ हुनुहुन्न,’ उनले भने, ‘मैले प्रक्रिया सम्झाएको हो, मलाई थाहा छ- प्रधानमन्त्री यहाँ उपस्थित हुनुहुन्न।’