प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराम आङ्देम्बेले बिवाइडी राजस्व प्रकरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले आफैलाई निर्दोष घोषणा गरेर चोख्याउँदै सुशासनको धज्जी उडाएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको १०० दिनको कार्यकाल समीक्षा गर्दै आङ्देम्बेले उक्त आरोप लगाएका हुन्।
बिवाइडी गाडी प्रकरणले सरकारको वास्तविक अनुहार देखाइदिएको उल्लेख गर्दै उनले भने, 'अर्थमन्त्रीमाथि राजस्व दर परिवर्तनसम्बन्धी गोप्य सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्याएको गम्भीर आरोप लाग्यो। ७०० भन्दा बढी बिवाइडी गाडी नियन्त्रणमा लिएको जस्तो गरियो।'
बजेट सार्वजनिक हुनुभन्दा अगाडि राजस्व दर चुहाएको आरोप लागेपछि अर्थमन्त्री वाग्लेमाथि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा उनले आफूले आफैलाई चोख्याउने काम गरेको आङ्देम्बेको भनाइ थियो।
'आरोप लागेकै मन्त्रीले आफ्नो मन्त्रालयका कर्मचारीको नेतृत्वमा समिति बनाएर आफैले चोख्याउने काम गर्यो। के यही हो सुशासन?' उनले अगाडि भने, 'आफूले आफैलाई निर्दोष घोषणा गर्ने हो भने जनताले कसरी विश्वास गर्ने?'
विगतमा यस्तै घटना हुँदा 'सुनपानी छर्केर चोख्याउने' भन्दै अरूमाथि आरोप लगाउने मन्त्री वाग्लेले अहिले आफै त्यही अभ्यास दोहोर्याइरहेको आङ्देम्बेले उल्लेख गरे।
'सुशासनको मापन भाषणबाट होइन, निष्पक्ष छानबिनबाट हुन्छ। सरकारसँग नैतिक साहस छ भने यस प्रकरणमा स्वतन्त्र न्यायिक वा उच्चस्तरीय छानबिन गराओस्। होइन भने सुशासनको नारा केवल जनतालाई झुक्याउने राजनीतिक नारा मात्र भएको पुष्टि हुनेछ,' उनले भने।