सुदूरपश्चिमको प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान भएको छ।
मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको प्रदेश सभा सचिव देबबहादुर बोगटीले बताए।
बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट सँगै अर्थ विधेयक र विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची छ।
असार १ गते मध्यराति अर्थमन्त्री धामीले इतिहासकै ठूलो बजेट करिब ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए।
बजेट प्रस्तुत भएको लामो समयपछि बजेट टेबुल हुन सकेको थिएन। बजेट प्रस्तुत भएको तीन हप्तापछि बल्ल प्रदेश सभाको बैठक आह्वान भएको छ।
प्रस्तुत बजेटलाई लिएर प्रमुख सत्ता साझेदार दल (नेकपा–एमाले) का सचेतक चक्र बम लगायतले असन्तुष्टि पोखेका थिए।
उनले टोलीलाई बजेटमा हेपिएको गुनासो गर्दै आएको स्रोत बताउँछ। एमालेकै सांसद दमन भण्डारी पनि प्रस्तुत बजेटप्रति असन्तुष्ट सुनिएका छन्।
सुदूरपश्चिम सरकारमा प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरू परिवर्तन गरी नयाँ मन्त्री पठाउने प्रयास अन्तिममा आएर रोकिएको थियो। बजेट प्रस्तुत गर्ने तयारी भइरहे पनि बजेटपछि परिवर्तन गर्ने भनेर अन्तिम अवस्थामा मन्त्री फेर बदलको तयारी रोकिन पुगेको थियो। बजेट प्रतिको असन्तुष्टिलाई कतिपयले एमाले भित्रको आन्तरिक किचलोका रूपमा अथ्र्याउँदै आएका छन्।
प्रस्तुत बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले पनि तीव्र असन्तुष्टि जनाउँदै आएको छ।
यहाँ हाल नेपाली कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री छन्। पार्टी भित्रको असन्तुष्टि समाधान गर्न मुख्यमन्त्री शाहले बजेटभन्दा अघि कांग्रेसका पुराना मन्त्रीहरू तानेर नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए।
दलहरूका बीचमा सहमति कायम हुन सके मंगलबार बिहान बिहान ११ बजेका लागि आह्वान भएको बैठक बस्न सक्ने छ। अन्यथा भन्न सक्ने अवस्था नरहेको स्रोतले बतायो। यद्यपी यो बीचमा मुख्यमन्त्री शाहले दलहरूसँगै थुप्रै पटक छलफल गरिसकेका छन्। उनले छुटेका कुराहरू समेटने प्रतिबद्धता दलहरूका सामु दोहोर्याएको हुँदा बैठकले मूर्त रूप पाउने सत्ता पक्षका दलहरूको अपेक्षा छ।
मंगलबार बिहानको बैठक बसेपछि मात्रै त्यसपछि बस्ने दोस्रो बैठकबाट विनियोजित बजेटबारे दफाबार छलफलहरू सुरू हुनेछन्।
‘दलहरूका बीचमा सहमति कायम भई बैठक सुचारू भएमा मंगलबार दिउँसो फेरि अर्को बैठक बस्न सक्ने अवस्था रहन सक्छ,’ सचिव बोगटीले भने, ‘त्यसो हुन सकेमा लगातार बैठक बसेर बजेट माथिको छलफलहरू टुंग्याउन प्रयास हुनेछ।’