नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज पनि छलफल गर्ने भएको छ।
काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजे छलफल हुने नेता मीनबहादुर विश्वकर्माको भनाइ छ।
सोमबार पनि चुनदेवीमा छलफल भएको थियो।
सोमबारको छलफलपछि नेता विश्वकर्माले साउन ६ गते विपी स्मृति दिवस मनाउने निर्णय भएको र थप मंगलबार छलफल गरेर निर्णय लिइने बताएका थिए।
१५ औं महाधिवेशन तयारीका लागि भन्दै देउवा समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोलेका हुन्। कतिपयले छुट्टै पार्टी गठन गर्नका लागि यो कार्यालय खोलिएकोसमेत चर्चा गरेका छन्।
नेता विश्वकर्माले १५ औं महाधिवेशनबारे सम्पर्क कार्यालयबाट गतिविधिहरू गरिने बताएका छन्।
‘पार्टी एकताका लागि हामी प्रयास गर्ने हो, कांग्रेसका लागि वैकल्पिक बाटो खोजेर जाने कुराबारे पनि छलफल भएको छ,’ उनले भने।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा समूह सहभागी भएको थिएन। देउवा भने उपचारका लागि विदेशमा छन्। यो समूहको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्काले नै साँचो खोलेर सम्पर्क कार्यालय शुभारम्भ गरेका थिए।
देउवा समूहले प्रदेश भेलाहरू सकेको छ भने अब राष्ट्रिय भेला गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।