अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग सेप्टेम्बर २४ तिर भेट्ने अपेक्षा गरेको बताएका छन्।
सोमबार एउटा कार्यक्रममा ह्वाइट हाउसको 'बलरूम' (सभागृह) निर्माणबारे छलफल गर्ने क्रममा सो मिति उल्लेख गरेका हुन्। चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणका कारण नयाँ संरचना बनाउनु पर्ने उनले औंल्याए भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
‘उदाहरणका लागि, मेरो विचारमा राष्ट्रपति सी यहाँ सेप्टेम्बर २४ तिर आउँदै छन्,’ ट्रम्पले भने, ‘हामीलाई एउटा ठूलो बलरूम चाहिएको छ, जहाँ उनलाई भेट्न हजारौं मानिसहरू अट्न सकून्। सबैजना उनलाई भेट्न चाहन्छन्।’
त्यति बेला न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा चल्नेछ। विश्वका धेरै राष्ट्र र सरकार प्रमुख महासभामा भाग लिन न्यूयोर्क जाने गर्छन्।
सेप्टेम्बर २२ मा महासभालाई सम्बोधन गर्ने तालिका रहेका ट्रम्पले अन्य विश्व नेताहरूलाई भेट्न सामान्यतया न्यूयोर्कमा केही रात बिताउने गर्छन्। सीले भने सन् २०१२ मा पदभार ग्रहण गरेयता केवल एक पटक मात्र यो कार्यक्रममा भाग लिएका छन्।
ट्रम्पले सेप्टेम्बरमा सीको स्वागत गर्ने अपेक्षा गरेको कुरा पहिले नै बताए पनि उनले यस भ्रमणको सम्भावित मिति भने तोकेका थिएनन्।
ट्रम्प र सीबीच यसै वर्षको मे महिनामा बेइजिङमा एक उच्चस्तरीय शिखर सम्मेलनका क्रममा भेट भएको थियो। चिनियाँ राष्ट्रपति सीसँग भेटेर केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम थियो।
तर युद्ध चलिरहेको बेला आफु अमेरिकामै हुनु जरूरी भएको भन्दै उनले सो भ्रमण स्थगित गरेका थिए।
सो भ्रमणका क्रममा ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने भन्दै ट्रम्पलाई चिनियाँ समकक्षी सीले चेतावनी दिएका छन्।
'ताइवानको मुद्दा चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो। यदि यसलाई गलत तरिकाले व्यवस्थापन गरियो भने दुई राष्ट्रहरूबीच टक्कर वा संघर्ष हुन सक्छ। जसले समग्र चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक स्थितिमा धकेल्नेछ,' सीले टिप्पणी गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)