चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरे।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरिन्।
चार वटै प्रस्तावलाई दफावार छलफलका लागि सर्वसम्मत रूपमा समितिमा पठाइएको अध्यक्षले घोषणा गरे।
सदनमा प्रस्तुत यी सबै प्रस्तावहरू सर्वसम्मतिले स्वीकृत भई विधेयकहरू दफावार छलफलको प्रक्रियामा अघि बढेका छन्। –न्युज एजेन्सी नेपाल