सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपक बोहोराले महाकाली सिँचाइ आयोजनाको पानी नेपाल र भारत दुवै देशले प्रयोग गर्ने भनिए पनि भारतसँग कूटनीतिक पहल नहुँदा नेपालतिर पानी नछाडिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बोहोराले उक्त आयोजनाको पानी नेपालतर्फ छाड्न परराष्ट्र मन्त्रालयमार्फत् भारतसँग कूटनीति पहल गर्न माग गरेका छन्।
उनले ४८ किलोमिटरको यो आयोजनामा करिब ३० किलोमिटर सम्पन्न भएको जानकारी गराउँदै अगाडि भने, 'यो आयोजनाको नहर अन्त्य हुने कृष्णपुर-९ मा नहर चाहिन्छ कि चाहिँदैन भनेर स्थानीयहरूसँग सोधिएन।'
दुइटा नदीको बीचमा १० मिटरको दूरीमा नहरका कारण केही दिनअघि मात्र पानी पर्दा त्यहाँको बस्ती पूरै डुबानमा परेको उनले उल्लेख गरे।
'स्थानीय पालिकाले यस क्षेत्रलाई आवासीय क्षेत्र भनेर घोषणा गरेको छ। तर सरकार त्यहीँबाट नहर लैजाँदै छ। स्थानीयहरू भनिरहेका छन्— हामीलाई नहर चाहिएन,' सांसद बोहोराले भने, 'स्थानीयहरूले नहर चाहिएन भनेर भन्दाखेरि किन चाहियो भनेर सरकारले बुझाइदिनुपर्यो सभामुख महोदय। सरकारले यो नहर यस कारण चाहियो भनेर जनतालाई भन्नुपर्यो।'
नहरका कारण स्थानीससँग भएको ऐलानी जग्गा पनि मासिएला भन्ने जुन डर छ, त्यो डरबीच यस कारण नहर चाहिन्छ भनेर सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ।