प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद यशोधा कुमारी बरालले प्रतिनिधि सभा नियमावली प्रतिपक्षका लागि मात्रै हुन्छ कि सबै दलका सांसदहरूमा लागू हुन्छ भनेर प्रश्न उठाएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले प्रतिपक्षमा मात्रै लागू हुने भए नियमावलीमै सो लेख्न समेत चुनौती दिइन्।
'नियमावली प्रतिपक्षका लागि मात्रै हो? हो भने प्रतिपक्षका लागि मात्रै हो भनेर दस्तावेजमै उल्लेख गरिदिनुस्। होइन भने प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले रूलिङ गर्नुपर्छ,' उनले भनिन्।
सांसद बरालले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा पनि सरकारसँग प्रश्न गरेकी छन्।
'सुकुम्बासी जनता हुन् कि होइनन्? उनीहरूले बाँच्न पाउने कि नपाउने? २५ हजार पैसा दिएर सडकमा धकेलिदिँदा मानवअधिकार हनन् हुन्छ कि हुँदैन? उहाँहरू स्वतन्त्रतापूर्वक बाँच्न पाउनुहुन्छ कि हुँदैन?,' उनले भनिन्।
उनले सरकारले काठमाडौंमा महिलाहरूका लागि निःशुल्क ब्लु बस चलाउन लागेको विषयमा पनि प्रश्न गरिन्।
'बसको नीलो रङ फेर्नेबित्तिकै ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा चल्ने हो कि फेसबुकका भित्ता रंग्याउन मात्रै हो?,' उनले भनिन्।
सरकारको सय दिनको काम र कार्यसूचीमा पनि उनले प्रश्न गरेकी छन्।
'सय दिनमा गर्ने भनिएको काम लोकप्रियता कमाउनका लागि मात्रै हो कि दीगो विकासका लागि गरिएका कुराहरू हुन्?,' सांसद बरालले भनिन्।