प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीमकुमारी बुढामगरले संसदको अपानको सीमा नाघेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बुढामगरले प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने विषय उठान गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि सुनुवाइ नहुनुले संसदको अपमान भएको बताएकी हुन्।
'उहाँकै अभिव्यक्तिका कारण सुस्ता लगायत सीमाक्षेत्रमा भारतीय फौजहरूले मार्च पास गरेर हस्तक्षेप गरे। वीर सुस्तावासीहरू लडिरहेका छन्।सीमानाका नागरिकहरू आफ्नो भूमिको रक्षा गर्ना जाग्राम छन्। हामीले लगातार माग गरिरहेका छौं। प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्छ माफी माग्नुपर्छ। उहाँको भनाइलाई संसदको रेकर्डबाट हटाउनुपर्छ। २ महिना हुन थाल्यो जबाफ आउँदै आएन। यो त संसदको अपमानको सीमानै नाघ्यो,' उनले भने।
उनले सांसदहरूले एउटै विषयमा कुरा राखिरहनु पर्दा देशमा अग्रगामी परिवर्तन नआउने बताए।
'गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा देशमै रोजगार दिनेछौं। सबै नेपालीको जीवनमा आमूल परिवर्तन गर्नेछौं भनेर नेपाली उत्पीडित वर्ग, जाति, क्षेत्रहरूबाट भोट लिएर सरकार बनाएपछि सय दिन बितिसक्दा उत्पीडित जनताका जीवनमा सकारात्मक परिवर्तनको आशा निराशामा परिणत भयो,' उनले भनिन्।
सरकारले विदेशबाट फर्काउने आश्वासन दिएको तर अहिले विदेश जानेहरूको ताँती रहेको बताइन्।
'आज घरघरमा समीक्षा भइरहेको छ- गल्ती गरिएछ भनेर,' उनले भनिन्।
गरिब सुकुम्बासीलाई गाँस, बासको विकल्प नै नदिई वर्षायाममा लखेटिएको उनले बताइन्।
'गरिब सुकुम्बासीलाई गास बासको कुनै विकल्प नै नदिइ वर्षायाममा पशुलाई लखेटेको झै लखेटिएको छ। उनीहरू पनि नेपाली नागरिक हो। नेपाली धर्तीको माटो उनीहरूको पनि हो। एउटा भोट आलिसान महलले दिँदा गरिब सुकुम्बासीले पनि एउटा भोट दियो। आज उनीहरू पशुतूल्य हुनुपर्ने?,' उनले भनिन्।
उनले संघीयतामाथि पनि प्रहार भइरहेको बताउँदै सरकारलाई यसमाथि ठट्टा नगर्न चेतावनी दिइन्।
'संघीयता कुनै फुमन्तर गरेर टिकटक बनाएर आएको होइन। रगतको भेल बगाउँदै अन्तिम प्राण हुँदासम्म पनि संघीय गणतन्त्र जिन्दावाद भन्दै प्राण त्यागेका वीरहरूको कथाले बनेको संघीयताको यो राष्ट्र संघीय गणतन्त्र, संविधान हाम्रा लागि प्राण भन्दा प्यारो छ। संघीयतामाथि ठट्टा नगरियोस्। हामी बाँचेर ल्याएका छौं। हामीलाई पुराना भनिन्छ। हाम्रो छाला र हड्डी पराना भएका होलान् हाम्रो विचार नयाँ सधैँ नयाँ रहिरहनेछ,' उनले भने।