इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार बिहान देशकै सबैभन्दा पवित्र धार्मिकस्थलमध्ये एक इमाम रेजाको दरगाहमा अन्त्येष्टि गरिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी शहर मशहदस्थित उक्त दरगाहमा अन्त्येष्टि सम्पन्न भएको हो। अन्त्येष्टिमा लाखौं समर्थक सहभागी भएका थिए।
खामेनीको अन्त्येष्टिअघि इरानमा साताव्यापी शोक यात्रा गरिएको थियो। शोक यात्रामा दसौं लाख मानिसहरू सहभागी भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
तर खामेनीकै छोरा तथा हालका सर्वोच्च नेता मोज्तबा अली खामेनी भने देखिएनन्।
उनी युद्ध सुरू भएयता एकपटक पनि सार्वजनिक रूपमा देखिएका छैनन्।
रोयटर्सका अनुसार उनी आफ्ना पितासँगै भएको आक्रमणमा गम्भीर घाइते भएका थिए।
उनको अनुहार विकृत भएको र हातखुट्टामा पनि गम्भीर चोट लागेको बताइएको छ।
तेहरानका उच्च स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले उनी स्वास्थ्यलाभ गरिरहेका भए पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने अवस्थामा अझै नपुगेको जनाएको छ।
थप अमेरिकी आक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले पनि उनको सार्वजनिक उपस्थितिलाई सीमित गरिरहेको बताइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको पहिलो आक्रमणमै खामेनी मारिएका थिए।
अमेरिका र इरानबीच गत महिना युद्धविराम भए पनि पछिल्ला दिनहरूमा फेरि तनाव बढिरहेको छ। यस्तो अवस्थामै एक सातादेखि इरान र इराकमा अन्त्येष्टि यात्रा, श्रद्धाञ्जली सभा र शोक कार्यक्रमहरू सञ्चालन भएका थिए।
बिहीबार खामेनीको शवलाई ट्रकमार्फत मशहदका भीडभाडयुक्त सडक हुँदै इमाम रेजाको दरगाहसम्म पुर्याइएको थियो।
सुनौलो गुम्बज र मिनार भएको दरगाहतर्फ शव लैजाँदा सेता पगडी लगाएका धर्मगुरुहरू ट्रकसँगै हिँडेका थिए भने कालो पहिरनमा रहेका हजारौँ समर्थकहरूले इरानी झण्डा, खामेनीका तस्बिर तथा क्रान्तिकारी नारासहितका प्लाकार्ड बोकेका थिए।
रोयटर्सका अनुसार इरानी धार्मिक नेतृत्वले ठूलो जनसहभागिता गराएर इरानले शक्ति र वैचारिक एकता प्रदर्शन गर्ने उद्देश्यले यी कार्यक्रम आयोजना गरेको थियो।