प्रतिपक्षी दल नेकपा (एमाले)ले गणेश नेपालीले आफैमाथि आगो लगाएको घटनाको छानबिन गर्न माग गरेको छ।
एमाले सांसद भुमिका गुरूङले शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै तनाव दिइएका कारण गणेश उक्त निष्कर्षमा पुगेको आफन्तको भनाइ रहेकाले त्यसबारे अनुसन्धान गर्न माग गरेकी हुन्।
'मोटरसाइकल पार्किङ गरेको कारण दस हजार रूपैयाँ जरिवाना गरी अत्यन्त तनाव दिएको कारण उनी उक्त निष्कर्षमा पुगेको आफन्तको भनाइ छ। यसको जिम्मेवारी सरकारले लिनुपर्छ,'उनले भनिन्,'घटनाको छानबिन गरी दोषीलाई कारबाही र विक्षिप्त परिवारलाई राहतको व्यवस्थापन गर्न माग गर्दछु।'
गणेशको मृत्यु एउटा व्यक्तिको मृत्यु नभई राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न उठाएको उनले बताइन्।
मुगुका २५ वर्षीय गणेशले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै जिउमा आगो लगाएका थिए।
उनी राइड सेयरिङका राइडर हुन्।
यात्रु लिएर विभाग पुगेका उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीसँग विवाद भएको थियो।
त्यसबेला उनको मोटरसाइकल महानगर प्रहरीले लैजान लागेपछि उनले आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनले आफैमाथि आगो लगाएपछि त्यहाँ रहेका विभिन्न व्यक्तिले पानी छर्केर निभाएका थिए।
पछि उनलाई प्रहरी र सर्वसाधारणले दोहोर्याएर मुख्य सडकसम्म ल्याएका थिए। त्यही बेलामा ट्याक्सी खोजेर त्यसमा राखेर उनलाई वीर अस्पताल लगिएको थियो।
वीर अस्पतालमा उनको आज उपचार क्रममा मृत्यु भएको हो।