नेकपा एमालेले २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युप्रति दुःख व्यक्त गर्दै सरकारको चर्को आलोचना गरेको छ।
राज्यको दबाब र प्रताडनाका कारण उनी आत्मदाह गर्न बाध्य भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा मुगुबाट काठमाडौं आएर परिवार पाल्न राइडरका रूपमा संघर्ष गरिरहेका गणेश नेपालीको मृत्युले देशलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।
‘नागरिकलाई गरिखाने वातावरण दिनुको साटो निराशा र प्रताडना मात्र दिने राज्य संयन्त्रको दबाबका कारण उहाँले यो आत्मघाती कदम चाल्नुभएको स्पष्ट छ,’ वक्तव्यमा भनिएको छ, ‘उपचारका क्रममा आजै भएको उहाँको दुःखद निधनप्रति नेकपा एमाले गहिरो दुःख व्यक्त गर्दछ।’
एमालेले सरकार गरिब र निमुखा नागरिकविरुद्ध श्रृंखलाबद्ध रूपमा अघि बढेको आरोप लगाएको छ। सुकुम्बासी बस्ती हटाउने नाममा वर्षायामकै बीचमा नागरिकलाई घरबारविहीन बनाइएको र त्यसका कारण हजारौं मानिस प्रभावित भएको दाबी पार्टीको छ।
‘सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा गरिब र निमुखा नागरिकहरूलाई मध्य वर्षाको समयमा घरबारविहीन बनाएर सडकमा पुर्याएको छ,’ वक्तव्यमा उल्लेख छ, ‘यसका कारण सयौं बालबालिका शिक्षा प्राप्त गर्ने मौलिक अधिकारबाट समेत वञ्चित भएका छन्।’
एमालेले सरकारको व्यवहारका कारण हालसम्म चार जना सुकुम्बासीले आत्महत्या गरेको र सयौं नागरिक डिप्रेसनको सिकार बनेको दाबी पनि गरेको छ।
वक्तव्यमा सरकार गठन भएको पहिलो १०० दिनभित्र व्यवस्थापनको अभाव, मानसिक तनाव र विस्थापनको त्रासका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङलगायतले ज्यान गुमाएको उल्लेख गर्दै एमालेले ती घटनाप्रति पनि दुःख व्यक्त गरेको छ।
पार्टीले अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हट्न अल्टिमेटम दिने र धम्क्याउने काम लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाएको छ।
एमालेले लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता हुन नसक्ने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार र सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।