कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासीको अवस्था बुझ्न गएका युवाहरूमाथि प्रहरीले धरपकड गरेको छ।
गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्।
उनीहरूको त्यही अवस्था बुझ्न गएका जेनजी अभियानीहरूलाई शनिबार दिउँसो प्रहरीले धरपकड गरेको हो।
धरपकडमा जेनजी मुभमेन्ट अलायन्सका माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको छ। उनीहरूलाई एक हुल प्रहरीले लछारपछार गर्दै गाडीमा चढाएको भिडिओ अमित ऊर्जाले आफ्नो फेसबुकमा साझा गरेका छन्।
भिडिओमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा अश्लील शब्द समेत बोलेको सुनिन्छ। एक हुल प्रहरीले उनीहरूलाई लछारपछार गरी गाडीमा हालेको भिडिओमा देखिएको छ।
गाडीमा हाल्दै गर्दा माजिदको अनुहारमा रगत पनि देखिएको छ।
गाडीमा बसाएपछि उनले प्रहरीसँग बारम्बार आफूलाई पक्राउ पुर्जी दिन माग गरेका छन्। त्यसको जबाफमा एक जना प्रहरीले 'के को पक्राउ पुर्जी' भनेर थर्काएको भिडिओमा सुनिएको छ।
तिनै प्रहरी माजिदलाई गाडीमा हालेपछि थप आक्रोशित भएका छन्।
'तँलाई घरबाट बाबु-आमाले पढ् भनेर पठाएको हो। राजनीति गर्छस्? बढ्ता नहो। तँ पढ् है, पढ्। अलि पढेर जान्नी हो। तँ राजनीति नगर् विद्यार्थी जीवनमा,' ती प्रहरीले भनेका छन्।
भिडबाटै एक जनाले माजिद वकिल हो भनिदिएपछि ती प्रहरी चुप लागेका थिए।
हामीले प्रहरी नियन्त्रणमा रहेका माजिदसँग छोटो कुराकानी पनि गरेका छौं।
उनले आफूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखेको बताएका छन्।
'पक्राउ पुर्जी दिइएको छैन। हामीलाई अहिले कीर्तिपुरमा राखिएको छ। निर्घात कुटपिट पनि भयो। मेरो नाक र मुखबाट रगत आइरहेको छ,' माजिदले भने।
सरकारले 'बागमतीको बाढीबाट बचाउने' भन्दै काठमाडौं उपत्यकाका नदी/खोला किनारमा बसोबास गर्ने सुकुम्बासीहरूको बस्तीमा डोजर चलाएर घरबार उजाडेको थियो। उनीहरूलाई कीर्तिपुर लगायत विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएकोमा पछिल्लो समय सरकारले त्यहाँबाट पनि जबर्जस्ती हटाइरहेको छ।
यसबीच कीर्तिपुर होल्डिङ सेन्टरमा गएराति पानी पसेपछि त्यहाँ आश्रित सुकुम्बासीहरू विचल्लीमा परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने होल्डिङ सेन्टरमा आश्रितहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको अवस्थामा उनीहरू पुगेर हो-हल्ला गरेकाले नियन्त्रणमा लिइएको बताए।
'त्यहाँ राति बाढी पसेपछि आश्रितहरूलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको थियो। उहाँहरू त्यहीँ गएर हो-हल्ला गर्न थालेपछि नियन्त्रणमा लिएका हौं,' एसपी भट्टराईले सेतोपाटीसँग भने।
उनीहरूलाई पक्राउ गरिएको नभई केही बेर नियन्त्रणमा मात्रै लिइएको पनि उनले बताए।
जेनजी अभियानी अमित ऊर्जाले भने आफूहरू सुकुम्बासीहरूको अवस्था बुझ्न मात्रै गएको बताएका छन्।
त्यसै क्रममा माजिदमाथि प्रहरीले कुटपिट गरेको उनले फेसबुकमा लेखेका छन्।
जेनजी मुभमेन्ट अलायन्सले शनिबार साँझ नै विज्ञप्ति जारी गर्दै माजिदसहित प्रतिनिधिहरूलाई बिनासर्त रिहा गर्न माग गरेको छ।
अलायन्सले गैरकानुनी रूपमा पक्राउ गरिएको घटनामा स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।