इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ हर्मुज अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरेपछि अमेरिकाले शनिबार इरानी सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।
अमेरिकी सेनाले यसलाई यही साताभित्र इरानविरुद्ध गरिएको तेस्रो चरणको आक्रमण भएको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार शनिबार साँझ (अमेरिकी समयअनुसार) सुरु गरिएको आक्रमण इरानले व्यावसायिक मालवाहक जहाजमाथि मिसाइल प्रहार गरेपछि गरिएको हो।
साइप्रसको झण्डा बोकेको उक्त कन्टेनर जहाजमा आगलागी हुनुका साथै इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ भने एक जना चालक दलका सदस्य बेपत्ता भएका छन्।
सेन्टकमका अनुसार जवाफी कारबाहीमा इरानका हवाई तथा समुद्री निगरानी राडार, मिसाइल र ड्रोन भण्डारण केन्द्र, प्रक्षेपण स्थल तथा सतहबाट आकाशमा प्रहार गर्ने मिसाइल प्रणालीलाई निशाना बनाइएको थियो।
'व्यावसायिक जहाज र नागरिक जलयात्रामाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर पार्दै अमेरिका त्यसको ठूलो मूल्य चुकाइरहेको छ,' सेन्टकमले भनेको छ।
'इरानले गलत निर्णय गर्यो। अब त्यसको मूल्य चुकाउनुपर्नेछ,' अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
यसअघि आईआरजीसीले केही जहाजलाई आफूले तोकेको मार्ग प्रयोग नगर्न चेतावनी दिएको र उक्त मालवाहक जहाजले मार्ग परिवर्तन नगरेपछि चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरेको थियो।
त्यसपछि आइआरजिसीले विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म हर्मुज बन्द भएको घोषणा गरेको थियो।
'यस घटनापछि अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना नआएसम्म स्ट्रेट अफ हर्मुज बन्द रहनेछ र कुनै पनि जहाजलाई त्यहाँबाट आवतजावत गर्न दिइने छैन,' आइआरजिसीले विज्ञप्तीमा भनिएको छ।
यो घटनाले गत महिना अमेरिका र इरानबीच भएको समझदारी (एमओयू) थप संकटमा परेको संकेत गरेको छ। अमेरिका स्ट्रेट अफ हर्मुजमा सुरक्षित जलयात्राको सार्वजनिक ग्यारेन्टी इरानले दिनुपर्ने अडानमा छ।
उता, शनिबार भएको क्षेत्रीय कूटनीतिक वार्तामा ओमानले स्ट्रेट अफ हर्मुजका दुवै जलमार्ग पूर्ण रूपमा पुनः सञ्चालन गर्ने प्रस्ताव राखेको थियो।
कूटनीतिक स्रोतका अनुसार ओमानले आफ्नो समुद्री क्षेत्रमा पर्ने दक्षिणी मार्ग कुनै पूर्वस्वीकृतिबिनै खुला गर्न प्रस्ताव गरेको थियो, जसले युद्धअघिको व्यवस्था पुनःस्थापित गर्ने लक्ष्य राखेको थियो।
तर इरानी प्रतिनिधिमण्डलले उक्त प्रस्ताव तत्काल स्वीकृत गर्न नसकी थप आन्तरिक छलफलका लागि तेहरान फर्काएको स्रोतले जनाएको छ।
अमेरिकी अधिकारीका अनुसार आईआरजीसीले आक्रमण गरेको मालवाहक जहाज ओमानले कुनै प्रतिबन्धबिनै पुनः खोल्न प्रस्ताव गरेको दक्षिणी समुद्री मार्गबाट यात्रा गरिरहेको थियो।