राप्रपा छाडेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका दुर्गा प्रसाईं एक भएर पार्टी खोल्ने भने पनि घोषणामा ढिलाइ भएको छ।
मलमासले पार्टी खोल्न रोकिएको बताउने गरेका धवल-दुर्गाले मलमास सकिएको लामो समयसम्म पनि पार्टी खोल्न सकेका छैनन्।
धवल शम्शेरलाई हामीले पार्टी घोषणा तयारी कहाँ पुग्यो भनेर सोधेका छौं।
उनले तयारी अन्तिम चरणमा पुगेको र अब केही समयभित्रै पार्टी घोषणा गरिने जानकारी दिए।
‘पार्टी विधानलाई अन्तिम रूप दिइँदैछ, पार्टीको नाम र चुनाव चिह्नलगायतका विषयमा पनि छलफलमै छौं,’ उनले सेतोपाटीसँग भने, ‘पार्टीको नाम र चुनाव चिह्न के रहन्छ भन्ने बाहिर ल्याउने बेला भइसकेको छैन।’
राप्रपा महामन्त्री रहेका राणा पार्टी साधारण सदस्यसमेत परित्याग गरी नयाँ पार्टी बनाउने अभियानमा होमिएका थिए। उनलाई प्रसाईंले साथ दिएका छन् भने राप्रपाका विभिन्न तहका करिब १८६ जना नेताहरूले पनि साथ दिएका छन्।
पार्टी गठनअघि उनीहरूले नेताहरूलाई विभिन्न विभागीय जिम्मेवारीसमेत दिएका थिए।