नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बेग्लै झण्डा र चुनाव चिह्न तयार नगरिएको बताएका छन्।
सम्पर्क कार्यालय चुनदेवीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सामाजिक सञ्जालमा चर्चामा रहेको बेग्लै झण्डा र चुनाव चिह्नतर्फ लक्ष्य गर्दै त्यस्तो नगरिएको बताएका हुन्।
‘त्यो झण्डा नेपाली कांग्रेसको ऐतिहासिक क्रान्ति २००७ सालको हो। झण्डा र चुनाव चिह्न तयार गर्ने भन्नेबारे अहिले हामीले सोचेका पनि छैनौं, तयार पनि गरिएको छैन,’ उनले भने, ‘त्यो बाध्यता नआओस् भनेरै हामी अहोरात्र काम गरिरहेका छौं।’
पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्ने काम संस्थापन पक्षको रहेको उनले बताए।
‘उहाँहरूले चाहनुभयो भने चुनदेवी सम्पर्क कार्यालयले पार्टीका गतिविधि एकसाथ नै गर्नेछ, यदि सानेपा कांग्रेस उदासिनता देखायो भने बाहिर रहेका कांग्रेसहरूले विकल्प खोज्ने अवस्था आउँछ।’
उनले शक्तिशाली कांग्रेस चाहिएको भए योगदान पुर्याएका नेताहरूलाई साथसाथै लैजानुपर्नेमा जोड दिएका छन्। उनले पार्टी विभाजनमा जानुभन्दा पहिले मेलमिलापको प्रयास गरिएको पनि बताएका छन्।
‘गत सातादेखि संस्थापन पक्षका नेताहरूसँग छलफल भएको छैन,’ उनले भने।
पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर छलफल गर्दै आएका छन्।
उक्त समूहको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन्। असार २२ देखि २४ गतेसम्म चुनदेवीमा छलफल भए पनि उक्त छलफलको निर्णय भने सार्वजनिक भइसकेको छैन।