नेकपा (एमाले)ले काठमाडौंका विभिन्न सञ्चारगृहको मूल गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेश र समाचार संकलनमा अवरोध पुर्याइएको घटनाप्रति आपत्ति जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सोमबार कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेर्स्याएर पत्रकारको आवतजावत रोक्ने प्रयास गरिएको घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको संज्ञा दिएका छन्।
उनले स्वतन्त्र रूपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन्।
'विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ। आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारीसाधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,' आचार्यले भनेका छन्।
आचार्यले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।
उनका अनुसार सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने तथा नियमित कामकाजमा अवरोध पुर्याउने यस्तो गतिविधि निन्दनीय मात्र नभई रहस्यमय पनि छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनको माग छ।
एमालेले नेपाल पत्रकार महासंघले यस घटनाका सम्बन्धमा अघि सारेका सबै मागप्रति पूर्ण समर्थन रहेको पनि जनाएको छ।