कांग्रेस सभापति गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ।
थापाको घरअगाडि सोमबार बिहानदेखि एउटा कार पार्क गरिएपछि स्थानीय आवतजावत प्रभावित भएको छ।
स्थानीयका अनुसार बिहान करिब ७ बजेदेखि उक्त कार घरअगाडि यसरी राखिएको छ कि बाइक समेत सहज रूपमा आउजाउ गर्न सक्ने अवस्था छैन।
स्थानीयले दाबी गरेअनुसार कार त्यहाँ राखेर चालक प्रहरीकै गाडी चढेर हिँडेको देखिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरी त्यहाँ पुगिसकेको छ।
‘अहिले भर्खरै रिपोर्ट भएको छ। अब त्यसलाई पनि तानेर लग्छौं,’ उनले भने।
यसअघि कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको थियो।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको थियो।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको थियो। यद्यपि गाडीहरू क्रेनले उठाएर लगिएको छ।