नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मिडिया हाउसको मुख्य गेटमा गाडी पार्क गरिएको घटनाको छानबिन गर्नुपर्ने बताएकी छन्।
कान्तिपुर पब्लिकेसन प्रालि, अनलाइनखबर डटकम, हिमालय टेलिभिजनको कार्यालयको मूल गेटमा सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो।
'आज सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनापछि केही स्वाभाविक प्रश्नहरू उठेका छन् उक्त सवारीसाधन त्यहीँ किन र कसले पार्क गर्यो?,' थापाले भनेकी छन्, 'यो केवल संयोग थियो, वा यसको पछाडि कुनै उद्देश्य थियो? यदि उद्देश्य थिएन भने मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै किन रोजियो?'
यी प्रश्नहरूको उत्तर अनुमान वा आशंकाबाट नभई निष्पक्ष र विश्वसनीय छानबिनबाट आउनुपर्ने उनको भनाइ छ।
'आधुनिक समाजमा स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भ हुन्। त्यसैले यस घटनाको सत्यतथ्य पारदर्शी ढंगले सार्वजनिक हुनु आवश्यक छ। यसले केवल घटनाप्रतिको विश्वास मात्र होइन, राज्यका निकायहरूप्रतिको जनविश्वास पनि सुदृढ बनाउँछ,' उनले भनेकी छन्।