नेकपा एमालेका महासचिव शंकर पोखरेलले सञ्चारगृहका गेट र काठमाडौंका व्यस्त क्षेत्रमा शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी आवागमन अवरुद्ध गरिएको घटनालाई योजनाबद्ध गतिविधिको संज्ञा दिएका छन्।
उनले यसलाई सरकारविरुद्ध उठिरहेका मुख्य मुद्दाबाट जनताको ध्यान मोड्ने, सञ्चार माध्यमलाई मनोवैज्ञानिक दबाब दिने र अराजकताको वातावरण सिर्जना गर्ने उद्देश्यसँग जोडेर व्याख्या गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार राति धारणा सार्वजनिक गर्दै पोखरेलले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन लगायत सञ्चारगृहका मूल गेट तथा न्युरोडजस्ता व्यस्त क्षेत्रमा सवारी साधन पार्किङ गरेर अवरोध सिर्जना गरिनुको अन्तर्यबारे चार सम्भावित उद्देश्य औंल्याएका छन्।
उनका अनुसार पछिल्लो समय पार्किङ विवादसँग जोडिएको युवा गणेश नेपालीको आत्मदाह र मृत्यु, सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी तथा सरकारको कार्यशैलीविरूद्ध युवाहरूले उठाएका प्रश्नबाट जनताको ध्यान अन्यत्र मोड्न यस्तो गतिविधि गरिएको हुनसक्ने देखिन्छ।
'पछिल्लो समय पार्किङ विवादका कारण भएको युवा गणेश नेपालीको आत्मदाह र दुःखद मृत्यु, सुकुम्बासी बस्ती व्यवस्थापनमा देखिएको चरम सरकारी कमजोरी र सरकारको अलोकतान्त्रिक शैलीका विरुद्ध आम युवा तथा जेनजी अभियानकर्ताहरू सडकमा उत्रिएको अवस्था छ,' उनले भनेका छन्, 'यी गम्भीर असफलता र जनआक्रोशबाट ध्यान अन्तै मोड्नका लागि यस्तो काम गरिएको हुन सक्छ।'
महासचिव पोखरेलले सरकारका कमजोरी, भूराजनीतिक चलखेल तथा 'डिप स्टेट' सम्बन्धी गतिविधिमाथि प्रश्न उठाइरहेका सञ्चार माध्यमलाई तर्साउने उद्देश्यले पनि सञ्चारगृहकै गेटमा अवरोध सिर्जना गरिएको हुन सक्ने दाबी गरेका छन्।
'मिडिया हाउसकै गेट थुन्ने गरी गाडी पार्किङ गरिदिनु पत्रकारहरूलाई मनोवैज्ञानिक दबाब दिने, तर्साउने र हाम्रो विरूद्धमा समाचार लेखे यस्तै अवरोध भोग्नुपर्छ भन्ने खालको धम्कीपूर्ण सन्देश दिने उद्देश्य हुन सक्छ,' उनले भनेका छन्।
यस्तै, उनले यसलाई 'काउन्टर न्युज' सिर्जना गर्ने र सरकारलाई पीडितका रूपमा प्रस्तुत गर्ने रणनीतिसँग पनि जोडेका छन्।
'सडक र सञ्चारगृहमा यस्तो अवरोध भएपछि स्वाभाविक रूपमा नयाँ बहस सुरू हुन्छ। यसले गर्दा सरकारले सुकुम्बासीका आँसु, बेरोजगारी र आर्थिक मन्दी जस्ता मुख्य सवालमा जवाफ दिनु पर्दैन,' उनले भनेका छन्।
पोखरेलले अराजकताको वातावरण देखाएर कठोर शासनशैलीलाई औचित्य पुष्टि गर्ने प्रयास पनि हुन सक्ने दाबी गरेका छन्।
'जब सहरमा अस्तव्यस्तता र अराजकता बढ्छ, तब सरकारले हेर्नुस्, समाजमा कति बेथिति छ, त्यसैले हामीले कठोर र स्वेच्छाचारी कदम चाल्नैपर्छ भनेर आफ्नो कार्यशैलीलाई जायज ठहराउने आधार तयार पार्न यसो गरिएको हुन सक्छ,' उनको भनाइ छ।
पोखरेलले लोकतन्त्रमा नागरिकको आवाज र स्वतन्त्रता सर्वोपरि हुने उल्लेख गर्दै डर, त्रास र अराजकताको वातावरण सिर्जना गरेर शासन गर्ने कुनै पनि प्रयासको एकताबद्ध रूपमा प्रतिवाद गर्न सबैलाई आह्वान गरेका छन्।
काठमाडौंका केही प्रमुख सञ्चारगृहको मूल गेट तथा न्युरोडलगायत क्षेत्रमा सोमबार शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेर आवागमनमा अवरोध सिर्जना भएको थियो।
घटनापछि सञ्चारमाध्यम, पत्रकार महासंघ र विभिन्न राजनीतिक दलले प्रेस स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै विरोध जनाएका छन्।