प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचनाबाट डराउन थालेको बताएका छन्।
लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति आलोचना सहन सक्ने क्षमता भए पनि सरकार यसबाट डराउन थालेको उनको भनाइ छ।
‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो तर जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
साथै उनले विभिन्न सञ्चारगृह तथा नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यस घटनालाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको आलोचना सहन नसक्ने प्रवृत्तिसँग जोडेका छन्।
गेटअगाडि गाडी राख्ने कार्यले स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्ने उद्देश्य देखिएको उनको भनाइ छ।
‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो,’ उनले भने, ‘यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ भन्दै तर्साइएको हो।’
सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभएको पनि बताए।
‘सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रु होइनन्। उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन्। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन,’ उनले भने।
नेता आङ्देम्बेले सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी समस्यादेखि मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारले र सर्लाहीका विवेक मण्डलले बेरोजगारी समस्याका कारण आत्मदाह गरेको घटनालाई लिएर सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी दलको नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसक्ने पनि बताए।
‘गाडीले गेट त छेक्न सकिएला तर जन–आवाजहरू छेक्न सकिन्न, इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन,’ उनले भने।
सोमबार अज्ञात व्यक्तिहरूले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति थापाको घर र भाटभटेनी सुपरमार्केट अगाडि सवारी पार्किङ गरेका थिए ।