एमबिएसको प्रश्नपत्र लीक प्रकरणमा प्रहरीसँग समन्वय गरेर तत्काल अनुसन्धान अघि बढाइएकाले २४ घन्टा नबित्दै मुख्य आरोपी पक्राउ परेको शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।
गत शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरू भएको केही मिनेटमै प्रश्नपत्र सार्वजनिक भएको थियो।
यसबारे थाहा पाउनेबित्तिकै अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय अघि बढाएको र त्यसको परिणामस्वरूप २४ घन्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपीहरू प्रहरी नियन्त्रणमा पुगेको शिक्षामन्त्री पोखरेलले बताए।
'परीक्षा प्रणालीमाथिको विश्वास, शैक्षिक संस्थाको विश्वसनीयता र हजारौं इमानदार विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई सामान्य घटनाका रूपमा हेर्न सकिँदैन भन्ने मेरो स्पष्ट धारणा थियो,' उनले आइतबार राति आफ्नो फेसबुकमा लेखेका छन्, 'त्यसै अनुसार मैले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग सम्पर्क गरी तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरेँ।'
त्यस क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोलाई अनुसन्धानमा परिचालन गर्न समन्वय गरिएको उनले जानकारी दिए।
शुक्रबार एमबिएस प्रथम सत्रको 'अर्गनाइजेसनल बिहेबियर' विषयको परीक्षा दिउँसो १२ बजे सुरू भएको थियो। त्यसको ५ मिनेटपछि नै प्रश्नपत्र ह्वाट्सएप ग्रुपहरूमा पुगिसकेको थियो।
'एमबिएस फ्रस्ट सेम सेक्सन सी' नामक १ हजार २३ जना सदस्य रहेको ह्वाट्सएप ग्रुपमा 'सुलभ सर' भन्ने व्यक्तिले प्रश्नपत्रको तस्बिर खिचेर हालेका थिए।
त्यसलगत्तै ग्रुपमा रहेका केशव भट्ट भन्ने परीक्षार्थीले 'सर सोलुसन पनि पठाइदिनु न' भनेर लेखे।
त्यसको केही मिनेटमै सुलभले अर्को 'पिडिएफ फाइल' पठाए।
अर्का परीक्षार्थी सुजन पौडेलले त खुलेआम 'अब इकोनोमिक्सको परीक्षामा ढिला जानुपर्ला सर, प्रश्नपत्र यसै गरी हाल्दिनुहोला' भनेर लेखेका थिए।
परीक्षा प्रणालीको यो भद्दा मजाकलाई 'टियु स्टुडेन्ट्स' नामक फेसबुक पेजले स्क्रिनसटसहित सार्वजनिक गरेको हो।
संयोगको कुरा के भने, भारतमा प्रश्नपत्र लीक प्रकरणका कारण सुरू विद्यार्थी आन्दोलनले केन्द्रीय राजनीतिमा ल्याएको तरंग सेलाउन नपाउँदै नेपालको सबभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा उस्तै बेथितिको घटना सार्वजनिक भएको थियो।
भारतमा प्रश्नपत्र लीक प्रकरणकै कारण कक्रोच जनता पार्टी (सिजेपी) को आह्वानमा चर्किएको विद्यार्थी आन्दोलन ३६औं दिनमा शनिबार सफल भयो। शिक्षा क्षेत्रमा व्याप्त बेथिति र प्रश्नपत्र किनबेचको विरोधमा उठेको त्यो युवा आन्दोलनले अन्ततः भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र झालाई पदबाट राजीनामा दिन बाध्य पार्यो।
भारतमा भएको उथलपुथल र विद्यार्थी शक्तिको प्रभावबारे नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेकै बेला नेपालमा पनि त्यस्तै प्रकृतिको घटना बाहिर आएको हो।
घटनाको चौतर्फी विरोध भएपछि शनिबार त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा. भरत राईले प्रहरीको साइबर ब्युरोमा पत्र लेख्दै 'सुलभ सर' (९८१२...) लगायतका व्यक्ति र परीक्षा केन्द्रको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरेका थिए।
यसै विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिक्षामन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, 'प्रहरीले डिजिटल प्रमाण र ह्वाट्सएप ग्रुपहरूको विश्लेषण गर्दै घटनामा संलग्न मुख्य आरोपीहरूलाई नियन्त्रणमा लिन सफल भयो। अनुसन्धान अझै जारी छ र यस घटनामा संलग्न जोसुकै भए पनि कानुन बमोजिम कारबाही हुनुपर्छ भन्ने मेरो स्पष्ट विश्वास छ।'
'यो घटना केवल केही व्यक्तिको गल्ती मात्र होइन, परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरूको समीक्षा गर्ने अवसर पनि हो। त्यसैले प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन प्रक्रिया र सम्भावित आन्तरिक कमजोरीहरूको समेत छानबिन गर्न आवश्यक रहेकोमा मैले जोड दिएको छु,' उनले लेखेका छन्।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले प्राडा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक .डा. महेशराज ओझा सदस्य छन्।
समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा प्रणालीमा रहेका कमजोरी र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ। प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको छ।
'परीक्षा प्रणालीमाथि जनविश्वास कायम राख्नु राज्यको दायित्व हो। त्यसका लागि आवश्यक कानुनी तथा संस्थागत सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ। विगतमा यस्ता घटनामा छानबिन लम्बिने र दोषी उम्किने गुनासो सुनिन्थ्यो, तर अब त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने मेरो विश्वास छ,' शिक्षामन्त्री पोखरेलले भनेका छन्।
यो घटनालाई केवल एउटा आपराधिक घटनाका रूपमा मात्र होइन, परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा पनि लिएको उनले बताएका छन्।
'इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीप्रतिको जनविश्वास अझ बलियो बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहनेछ,' उनले भनेका छन्।
यसबीच सिआइबीले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र लीक गर्नेको नाम सार्वजनिक गरेको छ।
सिआइबीले कैलाली घोडाघोडी नगरपालिका-११ घर भई हाल भक्तपुर मध्य थिमी-१ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको हो।
उक्त प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले २/३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। तर उनीहरूको संलग्नता नदेखिएको भन्दै प्रहरीले उनीहरूलाई छाडेको थियो।