नेकपा एमाले र नेकपाबीच प्रदेशहरूमा सहकार्य गर्ने सहमति भएसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल सुरू भएको छ।
एमाले र नेकपा मात्रैले यहाँ सरकार बनाउन सक्दैनन्।
अहिले कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नेतृत्वमा बागमती सरकार छ।
एमाले र नेकपा मात्रैले सरकार बनाउन नसक्ने भएकोले यहाँ कांग्रेसले पनि आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने जमर्को गरेको छ।
यहाँ एमालेले बानियाँ नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिइसकेको छ। एमाले र कांग्रेस मिलेर यहाँ सरकार बनाएका थिए।
बागमती प्रदेश सभा १०४ सदस्यीय छ।
यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो, उसका ३६ जना सांसद छन्।
नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३, हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
यहाँ सरकार बनाउन बहुमतका लागि ५३ जना सांसदको समर्थन चाहिन्छ।
एमालेले नयाँ सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
एमाले र नेकपाबीच भएको सहमतिमा बागमती मुख्यमन्त्री एमालेले लिने सहमति छ।
यहाँ कांग्रेसले आफूहरू ठूलो दल रहेको भन्दै अहिलेकै सरकारलाई निरन्तरता दिने जमर्को पनि गरेको छ। त्यसका लागि अन्य दलसँग छलफल अघि बढेको कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनको भनाइ छ।
कांग्रेसले यही सरकारलाई निरन्तरता दिन राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल अघि बढाएको उनको भनाइ छ। यी दलसँग सहमति भए कांग्रेसले पनि सरकार गठनका लागि बहुमत पुर्याउन सक्ने देखिन्छ।