नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका सह-संयोजक माधव कुमार नेपाललाई उनकै निवासमा गएर भेटेका छन्।
सोमबार बिहान कोटेश्वरस्थित निवासमै पुगेर प्रचण्डले माधव नेपालसँग छलफल गरेका हुन्।
दुई नेताबीच केहीबेर कुराकानी भएको संयोजक प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।
'उहाँहरूबीच त्यस्तो समस्या छैन। प्रदेश सरकारमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ,' ती सदस्यले भने।
पार्टीभित्र छलफल नै नगरी प्रचण्डले एमालेसँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेपछि नेपाल असन्तुष्ट छन्।
उनी अहिले एमालेसँग भन्दा पनि कांग्रेससँग नै सहकार्यका लागि जोडबल गर्नुपर्ने पक्षमा थिए।
कोशी, बागमती र लुम्बिनी एमालेको नेतृत्वमा, कर्णाली र सुदूरपश्चिम नेकपाको नेतृत्वमा तथा गण्डकी र मधेस अन्य दलको सहयोगमा सरकार सहमति गरेका थिए।