नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह गरेका छन्।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो।
उक्त घटना दु:खद र निन्दनीय रहेको सभापति थापाले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
‘नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन,’ उनले भने।
यस घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघ लगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ।
‘आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो। यस्तो परिस्थिति अहिलेमात्र भएको होइन। त्यसैले यसतर्फ तत्कालिन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन,’ उनले भने।
उनले स्वास्थ्यकर्मीहरूलाई सेवा नरोक्न पनि आग्रह गरेका छन्।
सभापति थापाले थप लेखेका छन्-
१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दबाब र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अत: यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारबाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिन गरियोस्।
२. नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारू गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।
३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र बिरामीको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादबाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघलगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।
यो पनि- नारायणी अस्पतालका ६८ जना चिकित्सकले दिए सामूहिक राजीनामा