रूपन्देहीका एमाले कार्यकर्ताहरूले पार्टीको नेतृत्व र नीति दुवै पुनर्गठन गर्न नसके सदस्यता नवीकरण गराउन नसकिने बताएका छन्।
मंगलबार बुटवलमा आयोजित रूपन्देहीको विस्तारित बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको केन्द्रदेखि वडासम्मका कमिटी नै पुनर्गठन नभए सदस्यहरूको सदस्यता नै नवीकरण गर्न नसकिने बताएका हुन्।
एमालेले सबै जिल्लाहरूमा मिसन पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सोही अभियानलाई प्रभावकारी बनाउन भन्दै रूपन्देही जिल्ला कमिटीले विस्तारित बैठक तथा अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि आउने भनेपछि नेता कार्यकर्ताहरूको बाक्लै उपस्थिति थियो। तर अन्तिम समयमा उपाध्यक्ष पौडेल नआएपछि केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालाई प्रमुख अतिथि बनाइएको थियो।
केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराई, पूर्वमुख्यमन्त्री लीला गिरी, नेता दधिराम न्यौपाने, रूपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे लगायतले सम्बोधन गरेको बैठक पार्टीको सांगठानिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने र स्थानीय तहका जनतासम्म पार्टीको सम्बन्धलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो।
फागुन २१ गतेको निर्वाचनमा पार्टीले नराम्रोसँग हार ब्यहोरेपछि पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरिएकोले पनि पार्टीका अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। बैठकमा क्षेत्रगत रूपमा स्थानीय नेताहरूलाई त्यहाँको अवस्थाबारे खुलेर भन्न समय दिइएको थियो।
क्षेत्र नं. २ को अवस्थाबारे जानकारी गराउँदै क्षेत्रीय संयोजक ऋषिराम पाण्डेले केन्द्रदेखि वडासम्म नै पुनर्गठन गर्न नसके पार्टी गतिविधि अगाडि बढाउन नसकिने बताए।
उनले तल्लो तहमा काम गर्ने कार्यकर्तालाई दोष दिएर माथिल्लो तहका नेताहरू उम्किन नमिल्ने बताए।
जिल्ला कमिटी सदस्य नरबहादुर घर्तीले नेतृत्वलाई रिझाएर नेता बन्ने परिपाटी बसेपछि पार्टीमा वर्गीय मुद्दा हराउँदै गएको बताए।
‘मैले लामो समय भूगोलमा काम गरेको अनुभवको आधारमा भन्नुपर्दा नेतालाई रिझाउने मात्रै सुरक्षित छन्। कार्यकर्ताले नेतृत्वलाई भेट्नै पाउँदैनन्,’ घर्तीले भने।
उनले यस पटक ५५ प्रतिशत मात्र सदस्यता नवीकरण भएकोमा अझै पनि पार्टीलाई पुनर्गठन गर्न सकिएन भने अर्को पटक त्यही संख्या पनि घट्ने बताए।
क्षेत्र नं ४ मर्चवारमा क्षेत्रीय संयोजक मुस्लिम खानले नेताहरू गाउँमा नजाँदा कार्यकर्ताहरूले नवीकरण गर्न मन नगरेको बताए।
‘नेताहरू कार्यकर्तामाझ जान छोडेपछि कार्यकर्ताहरूले पनि सदस्यता नवीकरण गराउन छोड्दै गएका छन्,’ खानले भने।
क्षेत्र नं ५ का संयोजक खड्क कुँवरले एमाले विरूद्धका गतिविधिहरूलाई एकताबद्ध एमालेले नै परास्त गर्न सक्ने भए पनि नेतृत्वले त्यसरी योजना बनाउन नसकेको बताए। उनले निर्वाचनमा जनताले दिएको मतलाई बुझेर पार्टीले योजना बनाउनुपर्ने बताए।

क्षेत्र नं ३ का सुरेन्द्र श्रीले पार्टी नेतृत्वमा अझै पनि चेत नखुलेको बताए।
‘यस्तो अवस्थामा पुग्दा पनि नेतृत्वको चेत खुल्दैन भने पार्टी कसरी बन्न सक्छ,’ उनले भने। श्रीले माथि बसेर तल्लो तहको वास्तविक अवस्था बुझ्न नसकिने भन्दै कार्यकर्ताको माझमा पुगेर उनीहरूको आवाज सुन्न नेतृत्वलाई आग्रह गरे।
विभिन्न क्षेत्रका संयोजक तथा प्रतिनिधिहरूका भनाइ सुनेपछि बोलेका सचिव विश्वकर्माले जनताका बीचमा नियमित पुग्ने, पार्टी विरूद्ध विरोधीहरूले फैलाएका भ्रमको तथ्यका आधारमा जबाफ दिन र सरकारका गतिविधिको निगरानी राख्न नेता कार्यकर्तालाई आग्रह गरे।
उनले पार्टी भित्र भएका कमीकमजोरीको आलोचना गर्न पनि डराउन नपर्ने बताए।
‘पार्टीभित्र पनि पनि कसैले केही कमीकमजोरी गरेको छ भने निर्धक्क भएर आलोचना गर्न पाइन्छ तर, पार्टी विरूद्ध फैलाइएका भ्रमहरूलाई चिर्ने काम पनि तपाई हाम्रै हो,’ विश्वकर्माले भने।
एमाले केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज खिमलाल भट्टराईले पार्टी पुनर्गठनका लागि केन्द्रबाट टिम नै बनेर देशव्यापी सुझाव संकलन गरिरहेकाले सबै तहका कमिटीलाई कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरे।
जिल्ला अध्यक्ष यज्ञ गैरेले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी सदस्यता नवीकरण, संगठन बिस्तारसहित जिल्लाका १६ वटै नगरमा कमिटी गठन गरिएको बताए।