प्रधानमन्त्री बालेन शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निमन्त्रणा आएको बताएका हुन्।
‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,' उनले भने।
सहसचिव ढकालका अनुसार कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन्।
परराष्ट्र मन्त्रालयमा प्राप्त सो निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी उनले बताए।
यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ।
'त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौं,’ उनले भने।
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्या मा हुँदैछ।
नेपाल सरकारले उक्त सम्मेलनमा जालवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ।–न्युज एजेन्सी नेपाल